२२ बैशाख २०८१, शनिबार

उदयपुरमा भीषण आगलागी, छ करोडभन्दा बढीको क्षति , एक बेपत्ता


आगलागी

२५ चैत, उदयपुर । उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीवाट एक वृद्धा बेपत्ता भएकी छिन् भने रु छ करोडभन्दा बढीको क्षति भएको छ ।

उक्त आगलागी रातको ११ बजे पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरवाट आगलागी शुरु भई रातको ३ बजेसम्ममा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

आगलागीवाट तामाङको ७० वर्षीया आमा बारीमाया तामाङसमेत बेपत्ता भएको प्रहरीले बताएको छ । आगलागी शुरु भएपछि ढिलो खबर प्राप्त भएका कारण प्रहरीले कटारी नगरपालिका र त्रियुगा नगरपालिकावाट दमकल मगाएर प्रहरी तथा स्थानीयवासीको प्रयासपछि अहिले बिहानको ३ बजे मात्र आगलागी नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

तामाङको घरमा रातिको समयमा धामी बसाएको र आगो सल्केको हुनसक्ने प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !