२५ बैशाख २०८१, मंगलबार

सिलिण्डर व्यवस्थापनमा जुट्यो गाउँपालिका


अक्सिजन सिलिन्डर

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिण्डर हस्तान्तरण गरेको छ । कोभिड सङ्क्रमण बढेपछि बजारमा अक्सिजन सिलिण्डर अभाव भएकाले केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरी राखेको १२ थान ठूलो सिलिण्डर गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

अक्सिजन सिलिण्डरको उपलब्धता भएपछि जलविद्युत् केन्द्रलाई फिर्ता दिने गरी सिलिण्डर ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नौ थान भरी सिलिण्डर र तीन थान खाली सिलिण्डर ल्याइएको छ । खाली सिलिण्डरलाई आज नै भर्न पठाइने पोखरेलले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार गाउँपालिकामा यस अगाडि दुईवटा भरी सिलिण्डर छ । थप सिलिण्डरको पनि खोजी कार्य गरिएको पोखरेलले जानकारी दिनुभयो । “आँबुखैरेनी गाउँपालिका जिम्मेवार भएर सङ्कट व्यवस्थापनमा जुटिरहेको छ”, पोखरेलले भन्नुभयो । जलविद्युत् केन्द्रले उपलब्ध गराएको सिलिण्डर लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेल, वडा नं ३ का सदस्य दिनेश केसी आफैँ पुग्नुभएको थियो ।

आइतबार मात्रै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको पहलमा एक कर्मचारीलाई उद्धार गरी काठमाडौँ पठाइएको थियो । प्रदेश सरकार मातहत कार्यालयका कर्मचारीलाई श्वासप्रश्वासमा समस्या भएपछि अध्यक्ष थापाको सक्रियतामा एम्बुलेन्स व्यवस्थापन गरिएको थियो ।

क्लबले आइसोलेशन बनाउन भवन दिने

आँबुखैरेनी–३ स्थित अलस्टार क्लबले आफ्नो भवन आइसोलेशन निर्माणका लागि गाउँपालिकालाई दिने भएको छ । कोभिड सङ्क्रमित बढेको र आइसोलेशनका लागि भवन अभाव हुनसक्ने भएपछि क्लब भवन गाउँपालिकालाई दिन तयार भएको हो । क्लबका अध्यक्ष दिनेश केसीले गाउँपालिकाका अध्यक्ष थापालाई उक्त भवन प्रयोग गर्न दिने सहमतिपत्र हस्तान्तरण गर्नुभएको छ । वडासदस्यसमेत रहनुभएका केसीले कोभिड रोकथाम गर्नु सबै सङ्घसंस्थाको कर्तव्य भएकाले क्लबको भवन आइसोलेशनका लागि दिने निर्णय भएको बताउनुभयो ।

उक्त भवनमा पाँच शय्याको आइसोलेशन कक्ष बनाउन सकिनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले कोभिड रोकथामका लागि क्लबले पु¥याएको सहयोग उदाहरणीय रहेको बताउनुभयो ।

थप दुई पालिकामा आजदेखि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय तनहुँले घिरिङ र ऋषिङ गाउँपालिकामा पनि आज निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार घिरिङ र ऋषिङका सम्पूर्ण भागमा आजदेखि निषेधाज्ञा आदेश जारी भएको हो ।

यसअघि जिल्लाका आठ स्थानीय तह र ऋषिङ गाउँपालिका–१ मा मात्रै निषेधाज्ञा गरिएको थियो । कोभिड सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गरी जिल्लाभर निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

यसअघि खाद्यान्नका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ने भनिएकामा अब बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र खुल्नेछन् । कार्यालयका अनुसार उक्त अवधिमा खाद्यान्न, तरकारी, फलफूल, दूध र दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, दाना, पशुपक्षीको उत्पादन र बिक्री वितरण र निर्माण सामग्री पसल खुल्नेछन् ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा एम्बुलेन्स, ग्यास, पेट्रोलियम पदार्थ, खानेपानी, औषधि तथा उपचार सामग्री, स्वास्थ्य संस्था, अस्पताल, दूरसञ्चार, फोहरमैला व्यवस्थापन, बैंकको एटिएम सेवा, डाँक सेवा र सार्वजनिक निर्माणसम्बन्धी कार्य सञ्चालन गर्न पाइन्छ । त्यस्तै माथि उल्लिखित भएकाबाहेक अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने, बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य सहभागी हुनुपर्ने अवस्था) का लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति लिनुपर्नेछ । सञ्चारकर्मीको हकमा सूचना विभाग वा सम्बन्धित सञ्चारगृहले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !