१४ बैशाख २०८१, शुक्रबार

घुमन्ते व्यापारीको अखाद्य वस्तुबाट उपभोक्ता ठगिँदै


पसल

पर्वत । घुमन्ते व्यापारीका कारण उपभोक्ता ठगिएका उजूरी बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालयले विशेषगरी खाद्यवस्तु बिक्री गर्दै सडकमा हिँड्ने व्यापारीवाट ठगिएका उजूरी धमाधम आउन थालेको जनाएको छ ।

हालै कार्यालयमा एक उपभोक्ताले आफूले किनेको मह दुई दिनमा जमेको र त्यो डाल्डा घ्यू जस्तै बनेको भन्दै गुनासो गरे । मौरीले नै बनाएको मह त्यस्तो स्वरूपमा नजाने भएकाले अखाद्य वस्तु मिसिएको हुन सक्ने अनुमान गरी प्रहरी कार्यालयले झोलामा बोकेर डुलाउँदै बेचिरहेका अवस्थामा कुस्मा बजारबाट मह र व्यापारीलाई नियन्त्रणमा लियो ।

सोही क्रममा चुक (अमिलो) झोलामा बोकी डुलाई बेचिरहेका अवस्थामा अर्का एक व्यापारीलाई पनि नियन्त्रणमा लियो । मह जस्तै अमिलोमा पनि अखाद्य वस्तु राखिएको हुन सक्ने तथा उपभोक्तालाई ठगेको हुन सक्ने अनुमानमा अमिलोसमेत नियन्त्रणमा लिइएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले बताउनुभयो ।

मह र अमिलो बेचिरहेकाहरूले आफूहरूले अखाद्य वस्तु नमिसाएको जिरि गरेपछि प्रहरीले उनीहरूलाई तीन दिनको समय दियो । प्रहरी नियन्त्रणमा रहेका सामग्रीमा तीन दिनमा कुनै खराबी नआएमा फिर्ता गरिदिने र फिर्ता लैजानका लागि तीन दिनपछि आउन सक्ने भनी पठाइएका व्यापारी सामग्री फिर्ता लैजान आएनन् । प्रहरी नियन्त्रणमा रहेको मह र अमिलो सडेर दुर्गन्धित बन्यो ।

‘तपाईँहरूको सामग्री ओरिजनल हो भने तीन पछाडि लिन आउनुहोला । तीन दिनसम्म हामीसँग राखेर हेर्छौँ भनेर पठाएका थियौँ तर उनीहरू सामान फिर्ता लैजान आएनन् ।’ प्रहरी निरीक्षक पौडेलले भन्नुभयो, ‘हाम्रो नियन्त्रणमा रहेका सामग्री कुहिएर कार्यालय नै दुर्गन्धित बन्यो । उनीहरू पक्राउ पर्ने डरले सामान लैजान नआएका हुन् ।’

प्रहरीले नष्ट गरेको करीब ५० लिटर अमिलो र १० किलो मह हेर्दै घिनलाग्दो अवस्थामा थियो । नष्ट गरिएको करीब सात हजार लिटर घरेलु मदिरा र त्यसको कच्चा पदार्थ पनि अखाद्य नै थिए । कुस्मा नगरपालिका २ खुर्कोटको नयाँ पुल र वडा नं ७ गोदामबाट नियन्त्रणमा लिइएको मदिराको कच्चा पदार्थमा कुहिएको भात र मासु, कपडा, चप्पललगायत पदार्थ राखेको पाइएको थियो । त्यसमा पनि बढी समस्या महमा देखिएको थियो जुन कुनै पनि हालतमा महको स्वरूपमा थिएन ।

उपभोक्ताको गुनासो आएपछि झोलामा बोकेर यस्ता खाद्य वस्तु बेच्नेमाथि नियन्त्रण बढाइएको प्रहरीले बताएको छ । त्यस्ता सामग्रीको व्यापार गरिरहेका व्यक्तिलाई पिछा गरिएको र पक्राउ गरेर थप प्रक्रिया अगाडि बढाइने पनि प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले उत्पादन मितिसहितको लेबल नभएका एवं खरीद तथा बिक्री बिल नभएका त्यस्ता घुम्ती व्यापारीलाई नियन्त्रण गर्ने काम स्थानीय तहको भएको जनाउँदै त्यस्ता व्यापारीसँग कुनै पनि सामग्री खरीद गर्न नहुने बताउनुभयो । ‘सामान सस्तोमा पाइयो भन्दैमा उपभोक्ताले लेबल नै नभएका, बिल नभएका सामग्री खरीद गर्न नै हुँदैन ।

उहाँले भन्नुभयो, ‘यसको नियन्त्रणको अधिकार स्थानीय तहमा रहेको छ । उहाँहरू सचेत हुनुपर्छ । उद्योग वाणिज्य सङ्घका तर्फबाट हामी प्रशासन र पालिका दुवैमा सहकार्य गरेर यो समस्या हटाउन लाग्नेछौँ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !