१३ जेष्ठ २०८१, आइतबार

सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै


दशगजा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ नंं ८१३ बाढीले ढलेको आधा दशक भयो । नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत छ वर्षदेखि महाकालीको बगरमा अलपत्र अवस्थामा रहँदा त्यसको पुनःनिर्माणमा सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीयवासीको गुनासो छ ।

हरेक साता सुरक्षाकर्मीले निगरानीमा राख्ने गरेको भए पनि त्यसको पुनःनिर्माणमा राज्यले ध्यान नदिँदा सीमा विवाद कायम रहेको स्थानीयवासी हंसबहादुर पालले बताउनुभयो । उहाँका अनुसार बाढीले बगाएको सीमास्तम्भ करिब सय मिटर वर नेपालतर्फ पुगेको छ । “सीमास्तम्भ बालुवाले पुरिने अवस्थामा आइपुग्दा पनि वास्ता भएन”, उहाँले भन्नुभयो, “सीमा पिल्लर ढलेका कारण भारतीय पक्षले किचलो गरिरहन्छन् ।”

उहाँले स्थानीय प्रशासनको पहलमा भारतीयसँग समन्वय गरेर सीमा जस्तो संवेदनशील विषयको संरक्षण समयमै गर्नुपर्ने बताउनुभयो । “महाकाली नदी किनारसम्म नेपालीको बसोबास हुँदा हामीलाई सीमा ढलेको चिन्ता छ”, स्थानीयवासी पदमसिंह कार्कीले भन्नुभयो, “छिमेकी मुलुकको हेपाहा प्रवृतिले त्रसित र सचेत पनि छौँ ।” ब्रह्मदेवको माथिल्लो भागदेखि महाकाली किनारहुँदै भीमदत्त–११ भुजेलासम्म पाँच मुख्य सीमास्तम्भ नै छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !