१९ बैशाख २०८१, बुधबार

निर्वाचन सुरक्षा रणनीति परिवर्तन : गृह मन्त्रालय


गृह मन्त्रालयको सुरक्षा नीति परिवर्तन

१७ मंसिर, काठमाडौँ । दोस्रो चरण निर्वाचन हुने राजधानी लगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय)ले विस्फोट कसले गराइरहेछ भनेर बताउन सकेको छैन । विस्फोट र बम रहेको हल्ला फैलाउने समुहलाई ‘निर्वाचन विरोधी तत्व’का रुपमा परिभाषित गरे पनि त्यस्तो तत्व को हो र कसले संत्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा सार्वजनिक गरिएको छैन।

आसन्न चुनावका समयमा करिब ५० स्थानमा विस्फोट र आक्रमणका घटनापछि गृह मन्त्रालयले सुरक्षा रणनीति परिवर्तन गरेको जनाउँदै सुरक्षा व्यवस्था कडा हुने जनाएको छ। गृह मन्त्रालयले शनिवार पत्रकार सम्मेलन गर्दै अब सुरक्षा व्यवस्था थप कडा हुने जानकारी दिएको हो। विस्फोट र उम्मेदवारमाथि नै आक्रमणका घटना तीब्र भएपछि सुरक्षाका सबै निकायसँग बैठक गरेको गृह मन्त्रालयले नयाँ रणनीति लिने जनाएको हो। यद्यपि नयाँ सुरक्षाको रणनीति कस्तो हुने भन्ने गृहले जानकारी गराएको छैन।

‘छिटफुट रुपमा जे जति घटना भएका छन् अब नियन्त्रणमा आउँछन्,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दवाडीले भने, ‘सुरक्षा जाँच र स्थल सुरक्षाका लागि व्यापक रुपमा सुरक्षाकर्मीको परिचालन गरिएको छ।’

उनले निर्वाचन भाड्ने गतिविधिमा संलग्न भएकाहरुलाई पक्राउ गरिएको र उनीहरुमाथि अनुसन्धान कायमै रहेको जानकारी दिए। ‘अब कसैले आत्तिनुपर्ने र असुरक्षित महसुस गर्नुपर्ने छैन,’ प्रवक्ता दुवाडीले भने, ‘सुरक्षा रणनीति पनि परिवर्तन गरेका छौं।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !