४ जेष्ठ २०८१, शुक्रबार

डब्लुएचओलाई गर्दै आएको सहयोग रोक्न वा कम गर्न नहुने : महासचिव संयुक्त राष्ट्रसंघ


एन्टोनियो गुटेरेस

एजेन्सी, वैशाख ३। संयुक्त राष्ट्रसंघले विश्वमा मानव स्वास्थ्यको निगरानी गर्ने निकाय डब्लुएचओलाई दिइँदै आएको आर्थिक सहायता कम गर्ने वा रोक्ने समय नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने बताए लगत्तै राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले वक्तव्य जारी गरेर कुनै पनि अवस्थामा अहिले सहयोग रोक्न नहुने बताएका हुन् ।

वक्तव्यमा महासचिवले यो समय सहयोग रोक्ने वा कम गर्ने नभई यो बेला त एकताको खाँचो र एकीकृत प्रयासको आवश्यकता भएको अवस्था हो भनेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको युद्धका लागि विश्वव्यापी प्रयासको खाँचो रहेको समेत महासचिव गुट्रेसले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण अन्त्यका लागि विश्वभरका सरकार तथा निकायहरुको सहकार्यको आवश्यकता रहेकोमा उनले जोड दिएका छन् । मानव समुदायले सामान गरेको अति खतरनाक चुनौतिका बेला विवादको कुनै कुन्जायस नहुने महासचिवले बताए ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा मंगलबार भएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई अमेरिकाले गर्दै आएको आर्थिक सहायता रोक्नका लागि आफूले निर्देशन दिइसकेको बताएका थिए ।

डब्लुएचओको खर्चमा अमेरिकाको सबैभन्दा ठूलो हिस्सा रहने गरेको छ । गएको वर्ष अमेरिकाले डब्लुएचओलाई ४०० मिलियन अमेरिकी डलर दिएको थियो । यो डब्लुएचओको कुल बजेटको करिब १५ प्रतिशत हो ।

यो पनि पढ्नुहोस्

विश्वको अर्थतन्त्र ९० वर्ष यताकै गम्भीर संकटतर्फ : अन्तर्राष्ट्रिय मुद्रा कोष

अमेरिकाले रोक्यो डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग

दक्षिण कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !