६ जेष्ठ २०८१, आइतबार

विश्वको अर्थतन्त्र ९० वर्ष यताकै गम्भीर संकटतर्फ : अन्तर्राष्ट्रिय मुद्रा कोष


अन्तर्राष्ट्रिय मुद्रा कोष

एजेन्सी, वैशाख ३ । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण विश्व अर्थतन्त्र ९० वर्षयताकै गम्भीर संकटतर्फ उन्मुख भएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले बताएको छ । आइएमएफले भनेको छ- अर्थतन्त्रमा आएको गिरावट सन् १९३० को दशकको ग्रेट डिप्रेसन (गम्भीर मन्दी) यताकै खराब देखिएको छ।

तीव्र गतिमा विश्वभरको आर्थिक गतिविधि गिर्दो क्रममा रहेकाले यो वर्ष विश्वको आर्थिक वृद्धिदर मात्रै ३ प्रतिशतको हाराहारीमा रहने आइएमएफले जनाएको छ । विश्वभर नै तीव्र गतिमा आर्थिक गतिविधि गिर्दो क्रममा रहेको उल्लेख गर्दै आइएमएफले यो वर्ष विश्वको आर्थिक वृद्धिदर मात्रै ३ प्रतिशत हाराहारीमा रहने अनुमान गरेकाे छ ।

कोषले मंगलबार विश्व अर्थव्यवस्थाबारे ‘वल्र्ड इकोनोमिक आउटलुक रिपोर्ट’ सार्वजनिक गर्दै बन्दाबन्दीले निम्त्याउने मन्दी एक शताब्दी यताकै ठूलो हुने अनुमान गरेको छ । यो मन्दी सन् १९३० को दशकको वैश्विक मन्दीपश्चातको गम्भीर र सन् २००८-९ को वित्तीय संकटभन्दा पनि गहिरो हुने आईएमएफले अनुमान गरेको छ ।

सन् २००९ मा विश्व अर्थतन्त्रमा ०.१ प्रतिशतको आर्थिक वृद्धि भएको थियो । सन् २०१९ मा विश्व अर्थ व्यवस्था २.९ प्रतिशतले बढेको थियो । कोरोना भाइरसका कारण सन् २०२० र २०२१ मा गरी विश्व अर्थव्यवस्थाले ९ ट्रिलियन डलर नोक्सानी बेहोर्नुपर्ने कोषको अनुमान छ ।

कोषले कोरोना भाइरसको संक्रमण अन्त्य भएमा सन् २०२१ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ । यद्यपी, संक्रमणको विस्तारको समाप्ति कहिले हुन्छ भन्ने कुराको अनिश्चयले भविष्यको बारेमा अनुमान लगाउन कठिन परेको कोषले जनाएको छ ।

अमेरिकामा मात्रै यो वर्ष आर्थिक वृद्धिदर ५.९ प्रतिशतले घटने आकलन गरिएको छ । गत जनवरीमा अमेरिकामा यो वर्ष आर्थिक वृदिर २ प्रतिशत हुने अनुमान गरिएको थियो । कोषले कयौं देशले विभिन्न खाले संकटको सामना गर्न परेको उल्लेख गर्दै सार्वजनिक स्वास्थ्यको अतिरिक्त घरेलु अर्थतन्त्रमा व्यवधान, मागमा कमी, पूँजी प्रवाहमा न्यूनताजस्ता समस्या परेको जनाएको छ ।

कोषले यो वर्ष विश्व ब्यापारमा ११ प्रतिशतले गिरावट आउनसक्ने पनि आकलन गरेको छ । कोषले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशतमा खुम्चने अनुमान गरेको छ । विश्व ब्यांकले गत आइतबार नेपालको आर्थिक वृद्धिदर यो वर्ष १.५ प्रतिशतदेखि २.८ प्रतिशत बीचमा रहने प्रक्षेपण गरेको थियो ।

यो पनि पढ्नुहोस्

अमेरिकाले रोक्यो डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग

दक्षिण कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !