नवलपुर, नवलपरासी । नारायणी नदीको किनारमा छठपर्वको तयारी सुरु गरिएको छ । श्रद्धा र भक्तिका साथ मनाइने छठ पर्व शुक्रबारदेखि विधिवत् सुरु भएसँगै नदी किनारमा छठको तयारी सुरु गरिएको हो ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ कात्तिक शुक्ल चौथीको दिनदेखि सुरु भएको तराई सामुदायिक सेवा समितिका उपाध्यक्ष नारदप्रसाद परिहस्तले बताए। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाई नहाए खाएके दिन पनि भन्ने गरिन्छ । छठ पर्वको पहिलो दिन शुक्रबार छठको व्रत गर्नेले खोला, नाला, नदी, पोखरी, तलाउलगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाएर बस्ने उनले बताए।
छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिको दिनलाई (खरना) भनिन्छ । खरनाका दिन शनिबारदेखि नै व्रतालुले निराहार व्रत सुरु गर्ने भन्दै उनले छठको तेस्रो दिन अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिने बताए। छठको मुख्य दिन सन्ध्या घाट आइतबार परेको भन्दै उनले ब्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिने बताए।
षष्ठीको दिन व्रतालु महिलाले नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउँदो सूर्यलाई र भोलिपल्ट सप्तमी तिथीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरेपछि छठ पर्व विधिवत रूपमा समापन हुने परिहस्तको भनाइ छ ।
शुक्रबारदेखि विधिवत छठ पर्व सुरु भएपनि छठको मुख्य दिन षष्ठी तिथी आइतबार परेकाले यहाँको नारायणी नदी किनारलाई व्यवस्थित स्नानघाट बनाउने तयारीमा समिति जुटेको उनले बताए। छठ पर्व मनाउनेका लागि पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै पूजास्थललाई सुरक्षित र उज्यालो बनाउने तयारी गरिएको उनको भनाइ छ ।
तराई सामुदायिक सेवा समितिका अध्यक्ष जयकिशोर पाण्डेले नारायणी नदी किनारको छठघाटलाई व्यवस्थापन गर्ने, सरसफाइ गर्ने, सजावट गर्ने र पण्डाल लगाएर सुरक्षित पार्ने काम अन्तिम चरणमा पुगेको बताए। नारायणी नदी किनारको छठघाटलाई आकर्षक टेण्टपण्डाल र झिलिमिली बत्तीले सजाउने काम भइरहेको उनको भनाइ छ ।
छठ पूजा अहिले तराईको मात्र चाड नभइ यो चाड पहाडी तथा अन्य समुदायले समेत मनाउने थालेका उनले बताए। छठी घाट व्यवस्थापनका लागि विभिन्न व्यक्तिले चन्दा तथा सहयोग उपलब्ध गराउँदै आएका पाण्डेको भनाइ छ ।
छठ पर्वका कारण बजारमा छठ पूजाका लागि चाहिने बाँसका नाङ्गलो, डालो, सुपली, टोकरी, माटोको कलश, दियो, पुजन सामग्री र प्रसादमा प्रयोग हुने उखु, फलफूल, मिठाइ, हरियो तरकारी, गहुँको पिठो, चिनी, तेल, नयाँ लत्ताकपडालगायतका सामान किन्नेको शुक्रबारदेखि नै भीडभाड बढेको छ।












