२४ बैशाख २०८१, सोमबार

क्रोएशियाबिरुद्ध अचुक रणनीति बनाउँदै फ्रान्सेली प्रशिक्षक


France Coach

३१ असार, काठमाडौं । आइतबार राति रुसको लुज्निकी रंगशालामा जर्सीमा अर्को तारा थप्न फ्रान्सलाई जुन अवसर छ, सायद त्यो भन्दा ठूलो अवसर फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पका लागि छ । फ्रान्सले विश्वकप जितेमा उनले यस्तो कीर्तिमान बनाउनेछन्, जुन यसअघि मात्र दुई जनाले हासिल गरेका छन् ।

‘सबै सफल खेलाडी सफल प्रशिक्षक हुन सक्दैनन् ।’ यसको उदारहणको रुपमा डिएगो म्याराडोनालाई लिए हुन्छ । तर, अपबाद पनि त हुन्छन् नि ! हो, त्यही अपबाद बन्ने लक्ष्यमा छन् फ्रेञ्च प्रशिक्षक डेसच्याम्प ।

सन् १९९८ मा घरमै भएको विश्वकपको ट्रफी डेसच्याम्पले उचालेका थिए, कप्तानका रुपमा डिफेन्सिभ मिडफिल्डका उच्चस्तरीय खेलाडी डेसच्याम्प अहिले क्रोएशियाबिरुद्ध अचुक रणनीति बनाउँदैछन्, किनभने उनलाई जसरी पनि जित्नुछ र इतिहासमा तेस्रो व्यक्ति बन्नुछ, जसले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्न सकेको होस् ।

४९ वर्षीय डेसच्याम्प सन् १९९८ मा फ्रान्सले पहिलो पटक विश्वकप जित्दा टोलीका कप्तान थिए । उनको नेतृत्वमा साविक विजेता ब्राजिललाई फाइनलमा ३–० ले हराएर फ्रान्सले इतिहास कायम गरेको थियो ।

उनी आफ्नो नाम इतिहासमा लेखाउन मात्र ९० मिनेटले पछि छन् । विश्वकपको बीसौं संस्करणसम्म केवल दुई ब्यक्तिले यो सफलता हात पारे, ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फन्स बेकनबउर ।

जागाल्लोले १९५८ र १९६२ मा खेलाडी र १९७० मा प्रशिक्षकका रुपमा ब्राजिलका लागि विश्वकप उपाधि जितेका थिए । यस्तै १९७४ मा खेलाडीका रुपमा विश्वकप जितेका बेकनबउरले प्रशिक्षक बनेर १९९० मा जर्मनीलाई उपाधि दिलाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !