२४ बैशाख २०८१, सोमबार

चिनियाँ कोरोना खोप सिनोफार्मलाई डब्लूएचओले दियो अनुमति


सिनोफार्म

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनियाँ कोरोना खोप सिनोफार्मले बनाएको कोरोना खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लूएचओले युरोप र अमेरिकाबाहिर उत्पादित कोरोना खोपलाई अनुमति दिएको यो पहिलो पटक हो ।

सिनोफार्मले उत्पादन गरेको कोरोना खोप भेरोसेल चीनमा लाखौं नागरिकलाई लगाइसकिएको छ । यस्तै विभिन्न ल्याटिन अमेरिकी र एसियाली मुलुकले पनि भेरोसेललाई आपत्कालीन प्रयोगको अनुमति दिइसकेका छन् ।

नेपालको औषधि व्यवस्था विभागले भेरोसेललाई फागुन ५ गते आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो । चीन सरकारले नेपाललाई ८ लाख डोज भेरोसेल सहयोगमा उपलब्ध गराएको छ ।

चीनमा उत्पादित कोरोना खोपको गुणस्तर र विश्वसनीयतामाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला डब्लूएचओले मान्यता दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार डब्लूएचओले उक्त खोप ‘सुरक्षित, प्रभावकारी र गुणस्तरीय’ रहेको जनाएको हो ।

डब्लूएचओले उक्त खोप १८ वर्षभन्दा माथिका उमेर समूहलाई २ डोज दिन सिफारिस गरेको छ । यो खोप अस्पताल भर्ना भएका र लक्षण देखिएका व्यक्तिमा ७९ प्रतिशतसम्म प्रभावकारी देखिएको पनि डब्लूएचओले बताएको छ । यो खोपलाई २ देखि ८ डिग्री सेल्सियसम्मको तापक्रममा सुरक्षित ढंगले भण्डारण गर्न सकिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !