१९ बैशाख २०८१, बुधबार

म्यानमारमा सैनिक ‘कू’ : १ वर्षका लागि संकटकाल घोषणा


म्यानमारका सैनिक प्रमुख मिन आङ हलिङ्ग

एजेन्सी । म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले ‘कु’ गर्दै सत्ता आफ्नो हातमा लिएको छ । आज सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो ।

म्यानमार सरकार र सैनिकबीच विवाद बढेपछि सुकीलाई गिरफ्तारी लगत्तै त्यहाँको सेनाले १ वर्षका लागि संकटकाल घोषणा गरेको छ । सैनिक प्रमुख मिन उङ लेङले सत्ता आफ्नो हातमा लिएका छन् । आङ सान सुकी समेत देशका सबैजसो वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको पनि जनाएको छ ।

सेनाको नियन्त्रणमा रहेको म्यावाडी टिभीका एक सैनिक प्रस्तोताले सेनाको घोषणा वाचन गर्दै सेनाले मस्यौदा गरेको संविधान बमोजिम देशभित्र आपतकालीन स्थिति उत्पन्न भए सेनाले देशलाई नियन्त्रणमा ल्याउन सक्ने उल्लेख गरेका थिए ।

ती सैनिक प्रस्तोताले गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा धाँधली भएको भन्ने सेनाको दाबीलाई अस्वीकार गरिएको तथा कोरोना भाइरसका कारण देशभित्र संकटपूर्ण अवस्था रहेकाले आम निर्वाचन स्थगित गर्न सरकार अक्षम भएपछि सैनिक नियन्त्रण आवश्यक रहेको बताएका थिए ।

केही दिनदेखि सेनाले सत्ता विद्रोहको तयारी गरिरहेको छ भन्ने समाचार सार्वजनिक भए पनि सेनाले त्यस्तो खबरमा सत्यता नरहेको बताउँदै आएको थियो । तर नयाँ निर्वाचन भएर नयाँ संसदको बैठक आजै शुरु हुने दिन बिहान सेनाले सत्ता विद्रोह गरेको छ ।

राजनीतिक नेताहरुलाई सैनिक नियन्त्रणमा राख्ने र अन्य संचार सम्पर्क विच्छेद गर्ने निर्णयले सेनाद्वारा सत्ता नियन्त्रण गरेको प्रस्टै देखिएको छ । राजधानी न्यापिटअको फोन र इन्टरनेट सेवा काटिएको छ भने सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को पार्टी कार्यालयसँगको सम्पर्क टुटेको छ ।

सन् २०११ मा लोकतन्त्र स्थापना पूर्व बर्मामा सैनिक शासन थियो । त्यतिबेला सुकी घरमै नजरबन्दमा थिइन् । गत नोभेम्बरमा भएको चुनावमा सुकीको दल नेष्नल लिग फर डेमोक्रेसीले बहुमत हासिल गरेको थियो । त्यसलाई सेनाले धाँधली भनेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !