१६ जेष्ठ २०८१, बुधबार

तान्जेनियाका पूर्व राष्ट्रपति बेन्जामिनको निधन


बेन्जामिन मकापा

दार एस सलाम, ९ साउन । तान्जेनियाका पूर्व राष्ट्रपति बेन्जामिन एमकापाको शुक्रबार निधन भएको छ । पूर्वी अफ्रिकामा शान्ति स्थापनाका लागि महत्वपूर्ण योगदान गरेका नेताका रुपमा चिनिनुभएका बेन्जामिनको ८१ बर्षको उमेरमा निधन भएको हो ।

सरकारी अधिकारीहरुले उहाँको दार एस सलाम अस्पतालमा निधन भएको शुक्रबार घोषणा गरेको हुन् । तान्जेनिया बेलायतबाट सन् १९६२ मा स्वतन्त्र भएपछि उहाँ तेस्रो राष्ट्रपति हुनुभएको थियो । सन् १९९५ देखि २००५ सम्म दुई कार्यकाल उहाँले राष्ट्रपतिको रुपमा राष्ट्रको नेतृत्व गर्नुभएको थियो ।

“मैले तान्जेनियाका तेस्रो राष्ट्रपति बेन्जामिन एमकापाको निधन भएको खबर सुनेर निकै दुःखी भएको छु, यो हामी र हाम्रो मुलुकका लागि ठूलो क्षति हो,” राष्ट्रपति जोन मागुफुलीले टेलिभिजनमार्फत दिएको छोटो सन्देशमा भन्नुभएको छ ।

उहाँको निधन हुनुको कारण भने केही नदिइएको समाचारमा जनाइएको छ । सन् १९३८ मा देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने एमट्वारामा उहाँको जन्म भएको थियो ।

उहाँले युगाण्डाबाट अङ्ग्रेजीमा स्नातकोत्तर गर्नुभएको थियो भने पत्रकारको रुपमा काम गर्नुभएको थियो । त्यसपछि राष्ट्रपति जुलियस न्येरेरेको प्रेस सल्लाहकार हुँदै राष्ट्रपतिसम्म हुनुभएको थियो ।

उहाँ धेरै पटक अन्य राजनीतिक नियुक्तिका जिम्मेबारीमा पनि रहनु भएको थियो । उहाँले विदेश मन्त्री, सूचना तथा सञ्चारमन्त्रीसमेतको जिम्मेवारी सम्हाल्नुभएको थियो । राष्ट्रपति बन्नुपूर्व उहाँले अमेरिकाका लागि तान्जेनियाको राजदूतका भई जिम्मेवारी सम्हाल्नु भएको थियो ।

उहाँ राष्ट्रपति भएको बेला देशको आर्थिक पुनर्संरचना, आर्थिक बृद्धि, उदारवादलगायतका क्षेत्रमा ठूलो परिवर्तन र विकास भएको मानिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !