२२ बैशाख २०८१, शनिबार

रेडक्रसको आफ्नै गोदाम घर निर्माण शुरु


red-cross

परासी, २३ फागुन । रामग्राम नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका लागि गोदाम घर बनाइदिने भएको छ । गोदाम घर निर्माणका लागि नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको छ । विपद्को समयमा आवश्यकपर्ने राहत सामग्रीको सुरक्षित भण्डारणका लागि उचित स्थानको अभाव भएकाले रेडक्रसका लागि नगरपालिकाले गोदाम घर निर्माण गरिदिन लागेको नगर प्रमुख नरेन्द्र गुप्ताले बताउनुभयो ।

रेडक्रस जिल्ला कार्यालय परिसरमा निर्माण हुन लागेको गोदाम घरको आज शिलान्यास गर्दै नगर प्रमुख गुप्ताले भन्नुभयो, “लामो समयदेखि गोदाम घरको समस्या थियो, हामीले विनियोजन गरेको बजेटले अपुग भएमा फेरि थप गर्नेछौँ, मानवीय सेवामा क्रियाशील यस्ता पवित्र संस्थालाई सबल बनाउनुपर्ने आवश्यकता छ, अब विपद्को समयमा तत्काल राहत सामग्री पु¥याउन रेडक्रसलाई सहज हुनेछ ।”

विपद् जतिबेला जहाँ पनि आउनसक्ने भएकाले मानवीय सेवामा क्रियाशील रेडक्रसलाई सक्षम र सबल बनाउनुपर्ने उहाँले बताउनुभयो । नगरपालिकाले रेडक्रसलाई एउटा एम्बुलेन्ससमेत छिट्टै हस्तान्तरण गर्ने नगर प्रमुख गुप्ताले जानकारी दिनुभयो । रेडक्रसले नै सञ्चालन गरिरहेको रक्त सञ्चार केन्द्रका लागि रु दुई लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “योसँगै अब नगरपालिकाभित्रका नगरवासीले निःशुल्क रगत पाउनेछन्, विपद् जोखिम न्यूनीकरणका लागि नगरपालिकाले पूर्वतयारीस्वरुप आपत्कालीन आश्रयस्थल बनाउने तयारी गरिरहेको छ, यसै आवभित्र त्यो पूरा गर्ने हाम्रो लक्ष्य छ ।”

आफ्नै गोदाम घर नहुँदा विभिन्न सङ्घसंस्थाबाट प्राप्त हुने राहत सामग्री राख्न समस्या भइरहेको रेडक्रस जिल्ला सभापति राजेन्द्र अग्रहरिले बताउनुभयो । ठूलो मात्रामा सहयोग गर्नका लागि गोदाम घरको महसुस भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाम्रो जिल्लाको विषेश गरी दक्षिणी क्षेत्रमा बाढीको उच्च जोखिम छ, आगलागी, डुबानलगायतका विपद् आउने गर्छ, त्यसबेला एकैपटक राहत पु¥याउन हामीलाई कठिनाइ हुने गर्दछ, अब यो गोदाम घर निर्माण भएपछि राहत सामग्रीको सुरक्षित मौज्दात राख्न र सहयोग गर्न सहज हुनेछ, अब बुटवल, भैरहवा जानुपर्ने बाध्यताको अन्त्य हुनेछ ।”

गोदामघर निर्माण सम्पन्न गरी प्रदेश सरकारसँगको सहयोगमा आवश्यक उपकरणको समेत व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । गोदाम घर निर्माण भएपछि करिब ७०० परिवारलाई पुग्ने खाद्यान्न, त्रिपाल, लत्ताकपडालगायत राहत सामग्री सुरक्षितरुपमा भण्डार गर्न सकिने रेडक्रसका वरिष्ठ शाखा अधिकृत मुरारी गुप्ताले जानकारी दिनुभयो । चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने गोदाम घर निर्माणको जिम्मा रामग्राम कन्ट्रक्सनले पाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !