२० बैशाख २०८१, बिहिबार

नयाँ वर्ष मनाउन घर फिरेका नेपालीलाई पश्चिम सीमामा सास्ती


dhangadi dhangadi

चैत्र २७, २०७२- डोटी नानेकेदारका भक्तबहादुर बोहरा नयाँ वर्ष (बिसु) मनाउन वर्षदिनमा घर फर्केका छन । भारतको मुम्बईमा काम गर्दै आएका भक्तबहादुर हरेक वर्षदिनमा घर फर्कन्छन् । उनी कहिले बिसुका लागि त कहिले बडादशैं मनाउन घर फर्कने गरेको बताउँछन् ।

उनले मुम्बईमा काम गर्न थालेको पन्ध्र वर्ष पुरा भईसकेको बताए । ‘जहिले पनि सिमामा उही समस्या हो,’ उनी भन्छन, ‘भन्सारमा वारिपारीका भन्सारका कर्मचारी र सुरक्षाकर्मीको व्यवहारमा परिर्वन आएको छैन ।’

उनका अनुसार पैसा माग्न अनावश्यक दु:ख दिने गर्छन । ‘पारी भारतीय पक्षले सिधै कल्टी छाम्छ, हजार/पाँच सयका नोट भेट्टाए थुतेर लैजान्छ,’ अर्का नेपाली सर्पे बोहराले भने, ‘हामीलाई त थाहा भएकोले अहिले उतैबाट बैंकमा जम्मा गर्छाैं । बाटो खर्च मात्रै बोक्छौं ।’ उनले चेकजाँचका नाममा झोलीझम्टा खोलेर दिनें झन्झटबाट मुक्त हुन सुरुमै सय/पचासका नोट हातमा थमाइ दिने गरेको बताए ।

‘नेपाल तिरका पुलिस पनि उस्तै हुन्’ उनले भने, ‘पैसा दिनै पर्छ । नत्र पोकापोन्तरहरु खोलेर छरफस्ट पार्छन ।’ उनले भारत पट्टीको भन्दा आफनै देशका भन्सार कर्मचारी र सुरक्षाकर्मीबाट हुने व्यावहारले मन दुखाउने गरेको बताए ।

भन्सारमा बस्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीले  चेकजाँचका नाममा पैसा माग्ने गरेको अन्य नेपालीले समेत बताएका छन्  ।

यतिबला दैनिक एक सयभन्दा बढी नेपालीहरु घर फर्कन गरेको त्रिनगर भन्सारका सई नेत्र कठायतले बताए । उनले कसैबाट कुनै प्रकारको गुनासो नआएको दाबि गरे । ‘पहिला पहिला भारतिय पक्षबाट  विष सेवन गराएको, बाटोमा लुटिएका घटना दर्ता हुन्थ्यो,’ उनले भने, ‘अहिले कसैबाट पनि त्यस्ता घटना दर्ता भएका पनि छैन । गुनासो पनि छैन ।’

अनावश्यक चेकपोष्ट
सशस्त्र प्रहरीले भन्सारमा तीन ठाउँमा गर्ने चेकजाँचले सास्ती मात्रैं दिने गरेको  छ ।  करिव पाँच सय मिटरको दुरीमा सशस्त्र प्रहरीले तीन ठाउँमा चेकजाँच गर्ने गरेको छ ।  पहिलो त्रिनगरको पारी, भन्सार गेटमा र  अन्तिम तेस्रो गेटबाट  १ सय मिटर दुरीमा सिमल बोट नजिक सशस्त्रको चेकपोष्ट  छ ।‘सशस्त्र प्रहरीले भन्सारमा तीन स्थानमा अनावश्यक चेकपोष्ट राखेर दु:ख मात्रै दिने गरेको जनस्तरबाट बारम्बारको गुनासो छ,’ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले भने, ‘सीमामा नेपाली र  भारतका प्रहरी प्रशासन र भन्सारकर्मचारीले आउजाउलाई सहज पार्नु पर्छ ।’ उद्योग वाणिज्य संघले भन्सारमा हुने अनाविश्यक चेकजाँच हटाउनु पर्ने माग उहिलेदेखी राख्दै आएको उनले बताए ।

‘नेपालतिरै पनि भन्सारमा एउटै व्यक्ती  पाँच/सात ठाउँमा चेकजाँचमा पर्छ्,’ उनले भने ‘दश–दश मिटरमा हिँड्दै पोकापोन्तर खोल्दै चेकजाँच गराउँदा अनावश्यक दु:ख पाइन्छ ।’  भन्सारमा सभकर राज्यको एक निकायले मात्रै चेकजाँच गर्नुपर्ने उनको धारणा छ । उनले नेपाल प्रहरी, भन्सार कर्मचारी, सशस्त्र र  ट्राफिक प्रहरीले समेत  रिक्सा रोकेर चेकजाँच गरेर दु:ख दिने गरेको बताए ।

सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक प्रकास शाहाले पहिलो चेकपोष्ट सुरक्षा चेकजाँचभन्दा पनि ‘हेल्प डेस्क’को रुपमा राखिएको  बताए । उनले भन्सार गेट र  सिमल बोटमा सुरक्षाको दृष्टिकोणबाट राखिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !