२६ बैशाख २०८१, बुधबार

स्थानीय तहमा छैन लेखा समिति


Nepalpatra

६ वैशाख, दमौली । तनहुँको १० स्थानीय तहमध्ये आठ वटा स्थानीय तहमा अझैपनि लेखा समिति गठन हुन सकेको छैन । स्थानीय तह सभा सञ्चालक ऐनको धारा ३५ को उपधारा १ मा प्रत्येक स्थानीय तहमा लेखा समिति गठन गर्नुपर्ने व्यवस्था भए पनि जिल्लाको ब्यास नगरपालिका र भिमाद नगरपालिकाबाहेक अन्य स्थानीय तहमा लेखा समिति गठन हुन नसकेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ मा गाउँ तथा नगरसभाले आफ्नो कार्यप्रणालीलाई व्यवस्थित गर्न नियमावली बनाइ कुनै सदस्यको संयोजकत्वमा लेखासमिति गठन गर्न सकिने प्रावधान छ ।

उक्त ऐनलाई टेकेर गण्डकी प्रदेश सरकारले पनि स्थानीय तहको सभा सञ्चालनसम्बन्धी कार्यविधि बनाएको थियो । ऐनले स्थानीय तहको कार्यपालिकालाई सभाप्रति उत्तरदायी बनाउन, स्थानीय कानून निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन तथा कार्यपालिकाबाट भएका कारवाहीको अनुगमन र मूल्याङ्कन गर्न आवश्यक निर्देशन दिनसमेत सक्ने गरी विधेयक समिति, लेखा समिति र सुशासन समिति गठन गर्नसक्ने व्यवस्था गरेको छ ।

गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिले प्रत्येक स्थानीय तहमा लेखा समिति गठन गर्न निर्देशन दिइसकेको छ । स्थानीय तहमा लेखा समिति गठन गर्नेबारे विधेयक पारित भएसँगै लेखा समितिले आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई यसको जिम्मेवारी दिएको छ ।

समितिले ऐनअनुसार स्थानीय तहमा लेखा समिति गठन भए÷नभएको हेरेर अनिवार्य गठन गराउन कानून मन्त्रालयलाई निर्देशन दिएको थियो । जिल्लाको शुक्लागण्डकी, भानु, देवघाट, आँबुखैरेनी, घिरिङ, रिसिङ, म्याग्दे र बन्दीपुर गाउँपालिकामा अझै पनि लेखा समिति गठन नभएको सम्बन्धित गाउँपालिकाका प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिनुभएको छ ।

ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तका अनुसार नगरपालिकामा प्रदेशबाट परिपत्र आउनु अगावै लेखा समिति गठन भइसकेको छ । तनहुँको भिमाद नगरपालिकामा समेत लेखा समिति गठन भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले लेखा समिति र अन्य पाँच वटा समिति गठन भइसकेको जानकारी दिनुभयो ।

नगरपालिकाले आर्थिक विकास समिति, सामाजिक विकास समिति, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति, सुशासन तथा संस्थागत विकास समिति र पूर्वाधार विकास समिति गठन गरेको जनाएको छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले लेखा समिति गठन बारे बहस भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार लेखा समिति गठन गर्न परिपत्र भए पनि अहिलेसम्म लेखा समिति गठन भने भएको छैन ।

‘गाउँपालिकामा आन्तरिक लेखा हेर्ने संयोजक त पहिल्यै हुनुहुन्छ, तर लेखा समिति नै भनेर गठन भइसकेको छैन । निर्देशन आएमा गठन गर्नेछौँ’ उहाँले भन्नुभयो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवबहादुर अधिकारीले हालसम्म नगरपालिकामा लेखा समिति गठन भइनसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकामा आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समितिलगायत छ वटा समिति गठन भएको छ । आगामी नगरसभाबाट लेखा समिति गठन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । ‘‘प्रदेश सरकारबाट समेत लेखा समिति गठनका लागि परिपत्र भएको छ’’, उहाँले भन्नुभयो ।

भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले लेखा समिति गठन नभएको र कार्यपालिकाको बैठक बसेर गठन प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले गाउँपालिकामा लेखा समिति गठन नभएको र अबको गाउँसभाले लेखा समिति गठन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लेखा समिति गठनको कार्यविधि टुङ्गो नलागेको हुनाले गठनमा ढिलाइ भएको हो । प्रदेशबाट समेत लेखा समिति गठनका लागि परिपत्र भइसकेको छ । उहाँका अनुसार गाउँपालिकामा अन्य छ वटा समिति भने गठन भइसकेको छ ।”

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापाले लेखा समिति गठनको विषयमा आफू समेत अनभिज्ञ रहेको बताउनुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐनबमोजिम वित्तीय व्यवस्थापन, आर्थिक विकास, पूर्वाधार विकासलगायत समिति भने गठन भइसकेको जानकारी दिनुभयो ।

रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले लेखा समिति गठनका लागि प्रदेशबाट परिपत्र भए पनि हालसम्म समिति गठन नभएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आइनपुगेकाले बैठक बस्न नपाएको र कार्यपालिकाको बैठक राखेर लेखा समिति गठनको प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीका अनुसार गाउँपालिकामा समेत लेखा समिति गठनको लागि परिपत्र आइसकेको छ भने समिति गठनको काम अगाडि बढाइएको छ ।

जाँच नगरी अण्डा आयातमा रोक

तनहुँ जिल्लाका अण्डा उत्पादक किसानले बाहिरी जिल्लाबाट जाँच नगरी अण्डा आयातमा रोक लगाउन माग गरेका छन् । तनहुँ जिल्लामा बाहिरी जिल्लाबाट जाँच नगरी छ््यापछ््याप्ती अण्डा भित्रिएको भन्दै उनीहरुले अण्डा आयातमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयसँग माग गरेका हुन् ।

देशका विभिन्न जिल्लामा बर्डफ्लु देखिएकाले बर्डफ्लु लागेका कुखुराबाट उत्पादन भएको अण्डा तनहुँ जिल्लामा भित्रिएको आशङ्का गरिएको तनहुँ अण्डा उत्पादक किसान समूहका अध्यक्ष रवीन भुजेलले बताउनुभयो ।

अण्डा उत्पादक किसानले बिहीबार प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई भेटी चितवन, काठमाडौँ, कञ्चनपुरका साथै भारतबाट बर्डफ्लु लागेको कुखुराबाट उत्पादन भएको अण्डा बजारमा सस्तो मूल्यमा बिक्री वितरण भएकाले जाँच नभई भित्रिएका अण्डा बिक्रीमा रोक लगाउन माग गरिएको भुजेलले जानकारी दिनुभयो ।

पशु ज्ञान केन्द्रको जाँच बिना तनहुँ जिल्लामा बाहिरी जिल्लाबाट अण्डा भित्रिएको छ । यसले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेकाले त्यस्ता अण्डा बिक्रीमा रोक लगाउन माग गरेका हौँ,’ भुजेलले भन्नुभयो ।

अण्डा उत्पादक किसान हिमाल श्रेष्ठले पक्षी तथा पक्षीजन्य सामग्री बाह्य जिल्लाबाट तनहुँ भित्रिदा पूर्वमा आँबुखैरेनी र पश्चिममा कोत्रेमा सुरक्षा निकायद्वारा आवश्यक कागजात जाँच गरी स्वास्थ्य प्रमाणपत्रबिना ओसारपसार र बिक्री वितरण गर्न नपाइने सहमति गरिएको भए पनि सहमति कार्यान्वयन नभएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा बाहिरबाट भित्रिने अण्डा पशु क्वारेन्टाइन वा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट जाँच गराएको प्रमाण हेरी मात्र ल्याउन दिने व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !