२५ बैशाख २०८१, मंगलबार

स्थानीयको श्रमदानले बाटो खुल्यो


Nepalpatra

११ चैत, गलेश्वर । हिमपातका कारण डेढ महीनादेखि ठप्प रहेको गुर्जा जाने बाटो स्थानीयले हिउँ पन्छाएर खुलाएका छन् ।

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ, देउराली, लट्बाङ हुँदै गुर्जा पुग्ने पैदलमार्गमा करीब दुई फिट जमेको हिउँलाई पन्छाएर बाटो खुला गरिएको धौलागिरि गाउँपालिकाका प्रवक्ता तथा गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

“करीब डेढ महीनादेखि पटकपटक हिउँ परेपछि बाटो अवरुद्ध भएको थियो ।”, छन्त्यालले भन्नुभयो, “पैदलयात्री, खाद्यान्न ढुवानी र खच्चड आवतजावत गर्न समस्या भएपछि स्थानीयले दुई दिनसम्म श्रमदान गरेर बाटो खुलाएका हौँ ।”

हिउँ पन्छाएर बाटो खुलाएपछि पैदलमार्गमा अब कुनै समस्या नरहेको उहाँले बताउनुभयो । लुलाङ र गुर्जाको सिमानामा पर्ने देउरालीमा करीब चार फिट हिउँ जमेर हिँड्न नसक्ने भएपछि स्थानीयले वैकल्पिक मार्ग बनाएका थिए तर, त्यो मार्ग पनि जोखिमयुक्त भएपछि बन्द गरिएको थियो ।

चट्टानजस्तै हिउँ नपग्लिँदा गुर्जाबाट गाउँपालिकाको केन्द्र हुँदै सदरमुकाम बेनी आउने स्थानीयले गुर्जाबाट मुदीको अर्चे हुँदै मुनातर्फ जाने गरे पनि सो बाटा पनि अत्यन्त जोखिमपूर्ण रहेकाले समस्या भएको थियो । गुर्जामा एउटै बस्तीमा करीब ३०० घरधुरीको बसोबास रहेको छ ।

बुबाको स्मृतिमा प्रजनन कक्ष निर्माण

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख देउरालीमा रहेको शिख स्वास्थ्यचौकीमा गर्भवती महिलालाई सुत्केरी गराउनको लागि प्रजनन कक्षको निर्माण कार्य शुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिका–५ खसरेबोट निवासी स्व कुलबहादुर पाइजाको स्मृतिमा छोरा राजन पाइजा र बुहारी निर्मला पाइजाले रु तीन लाख ५० हजारको लागतमा उक्त प्रजनन कक्ष निर्माण गर्न लाग्नुभएको शिखबाट सेते तिलिजाले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !