१८ बैशाख २०८१, मंगलबार

समृद्धिको परिकल्पनासहित नयाँ शक्तिको जनसंवाद यात्रा


Nepalpatra

१६ माघ, ताप्लेजुङ । समृद्ध नेपालको परिकल्पनासहित नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनसंवाद यात्राको थालनी गर्नुभएको छ ।

एक महीने जनसंवाद यात्राको नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको चिवाभञ्ज्याङमा मङ्गलबार एक कार्यक्रमबीच डा भट्टराईले शुभारम्भ गर्नुभयो । पूर्वको चिवाभञ्ज्याङदेखि शुरु भएको उक्त जनसंवाद यात्रा एक महीनापछि सुदुरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट नाकामा पुगेर टुङ्गिने छ । सोही यात्राका क्रममा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने विभिन्न पर्यटकीय तथा व्यापारिक क्षेत्रका नागरिक, जनप्रतिनिधिलगायतसँग छलफल र अन्तरक्रिया गरिने बताइएको छ ।

अभियानको शुभारम्भ गर्दै डा भट्टराईले सो यात्रा तथा अभियान मुलुकको समृद्धिसँग जोडिएको बताउनुभयो । जनसंवाद यात्रा तथा अभियान आफ्नो पार्टीको एजेण्डा नभई साझा अभियानका रुपमा यसको शुभारम्भ गरिएको उहाँको भनाइ थियो । मध्यपहाडी लोकमार्गले मेचीदेखि महाकालीसम्मको भुगोललाई मात्रै नभई हरेक जातजाति र समुदायलाई समेत जोडेकाले यही लोकमार्ग भएर सञ्चालन हुने यात्रामार्फत समृद्धिको सुत्र तयार हुने डा भट्टराईले स्पष्ट पार्नुभयो ।

जनसंवाद यात्रामा उहाँका धर्मपत्नी एवं सो पार्टीकी नेता हिसिला यमी, नयाँ शक्ति पार्टीका अन्य नेता तथा कार्यकर्ता सहभागी छन् । ‘असल राजनीति र समावेसी विकासका लागि जनसंवाद’ नारा दिइएको उक्त यात्रा तथा अभियानका क्रममा २७ जिल्लाका करीब ९० स्थानमा कार्यक्रम गरिने नयाँ शक्ति पार्टी नेपालका ताप्लेजुङ संयोजक सविन बानियाँले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !