२० बैशाख २०८१, बिहिबार

घरवास सञ्चालनका लागि तालीम


गुर्जुधारा होमस्टे

८ पुस, कञ्चनपुर । निकट भविश्यमा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा सञ्चालन हुन लागेको घरवास (होमस्टे) को पर्यटन विकासका लागि आजदेखि चारदिने आधारभूत तालीम सञ्चालन गरिएको छ ।

खयरकन्द्रा सामुदायिक घरवासमा आबद्धलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ विकास समिति ताहाचल, काठमाडौँले तालीम दिन थालेको हो । सोेमा आबद्ध समुदायलाई सैद्धान्तिक र प्रयोगात्मक गरी तालीम प्रदान गरी दक्ष बनाइने तालीम संयोजक लीलाप्रसाद तिमिल्सिनाले बताउनुभयो । तालीममा घरवासका आवश्यक पर्ने आधारभूत जानकारी सिकाइने उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले सामुदायिक संस्थाहरुको संरक्षण संवद्र्धन गर्ने दायित्व स्थानीय तहलाई भएकाले संस्कृति संरक्षण र घरवासका माध्यमबाट स्थानिय बासिन्दाको आयआर्जनका लागि नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त घरवास नगरपालिकाकै पहिलो हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरका सहायक संरक्षण अधिकृत सुदीपराज निरौलाले कोषले घरवास सञ्चालनका लागि रु १३ लाख रकम हस्तान्तरणसँगै आवश्यक तालीम र अन्य जिल्लाका उत्कृष्ट घरवासको भ्रमण गराई सञ्चालकलाई अनुभव प्रदान गरिएको बताउनुभयो । घरवास सञ्चालनसँगै तरकारी, दूध उत्पादक, कुखुरापालक, परम्परागत हस्तकलाका सामान बनाउने व्यक्तिलाई समेत फाइदा हुने बताइएको छ ।

सञ्चालनमा आउन लागेको सो घरवासमा आठ घरमा १६ कोठा र ३२ वटा ओछ्यान रहेका छन् । उक्त वडा थारू समुदायको पुरानो गाउँ हो । सो वडाको नजिकै दक्षिणी भेगमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र खैकन्द्रा नाम गरेको ठूलो प्राकृतिक ताल रहेको छ । यसै तालको नामबाट उक्त घरवासको नामाकरण गरिएको छ । सो ताल कमलका फूल, चराचुरुङ्गी र जलचरका लागि प्रख्यात रहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !