२७ बैशाख २०८१, बिहिबार

नलगाडको सहायक पहुँच मार्गको स्तरोन्नति शुरु


Jajarkot

७ मङ्सिर, जाजरकोट । नलगाड जलविद्युत् आयोजना निर्माणका लागि बनाइएको सडकको स्तरोन्नति कार्य शुरु भएको छ । बिहीबारदेखि जिरो प्वाइन्ट कालिमाटीबाट सडक स्तरोन्नति कार्य शुरु भएको हो ।

करीब नौ किलोमिटर लम्बाइ रहेको सो सडकको एक वर्षअघि ट्र्याक खोलिएको थियो । स्तरोन्नतिको काम दुई वर्षभित्र गोल्ड्न गुड कन्ट्रक्सनले गरिसक्नुपर्नेछ । बाह्र करोड रकममा स्तरोन्नति काम सम्पन्न हुने सांसद गणेसप्रसाद सिंहले बताउनुभयो । आयोजना निर्माणका लागि सामग्री ढुवानी र स्थानीय आवतजावतलगायतका कामका लागि कालिमाटीदेखि ओरारीसम्मको सडकको स्तरोन्नति हुन लागेको हो । जिरो प्वाइन्टमा सडक कताबाट लाने भन्ने विषयमा विवाद हुँदा छ महीना ढिलो गरी निर्माणको काम शुरु भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

आयोजना निर्माण स्थलमा जाने कालिमाटीदेखि अँधेरी खोलासम्मको करीब ११ किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीले अहिलेसम्म छ किमी पनि निर्माण हुन सकेको छैन् । सडक निर्माण कार्य ढिला हुँदा यहाँका स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । बारेकोट गाउँपालिका, नलगाड नगरपालिका र जुम्ला जाने यात्रुले सास्ती भोग्दै आएका छन् । सडक निर्माण कार्य पूरा भएपछि दैनिक काम, कारवाही सहज हुने नलगाड कालिमाटीका शिक्षक दिनेश ओलीले बताउनुभयो ।

बारेकोट गाउँपालिकामा टेलिफोन टावरका सामग्रीदेखि खाद्यान्न ढुवानीसमेत अवरुद्ध हुँदै आएकामा सडकको स्तरोन्नतिको काम छिटो भएमा सहज हुने ओलीले बताउनुभयो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम जारी रहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !