२५ बैशाख २०८१, मंगलबार

‘एक घर एक धारा’ जडान


खानेपानी

२३ असोज, बागलुङ । बागलुङ नगरपालिकाले खानेपानीको सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियानलाई तीव्रता दिएको छ । नगरले आगामी पाँच वर्षभित्र नगरका सबै घरमा धारा जोड्ने अभियानअन्तर्गत वडा नम्बर ८ सिगानका ४४ घरधुरीमा धारा जडान गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा सिगानाको लागि एक घर एक धारा अभियानलाई विनियोजित गरेको रु पाँच लाख बजेटमा धारा निर्माण सम्पन्न गरेको वडाध्यक्ष राजन जिसीले बताउनुभयो । “पानीको सहज आपूर्तिका लागि तीन वर्षभित्र सिङ्गो वडालाई नै एक घर एक धारा पु¥याउने लक्ष्य लिएका छौँ” जिसीले भन्नुभयो ‘‘खानेपानीका लागि घण्टौँ हिँडेर आउजाउ गर्ने समय वचत भएको छ ।”

सिगानाको छरछरे खानेपानी आयोजनामार्फत हवल्दार थर, थापाथर र नौमुरेका ४४ घरपरिवारलाई एक–एक धारा जडान गरिएको हो । घरमै पानीको धारा आउँदा स्थानीय पनि हर्षित भएका छन् ।

सामुदायिक धारा तथा कुवाको पानी लिन जाने स्थानीयलाई घरमै धारा जडानपछि समयको वचत भएकोे छरछरे खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रेशम थापाले बताउनुभयो । आयोजनामा १८ घनमिटरको एउटा ट्याङ्की निर्माण गरी तीनवटा टोललाई छुट्टाछुट्टै शाखामा विभाजन गरी ‘गे्रयाभिटज’ प्रविधिबाट ४४ वटा धारामा पानी वितरण गरिएको आयोजनाका इञ्जिनीयर गौरव शर्माले बताउनुभयो ।

नगरले हालै बानपा–७ ढिकीचौरमा १६५ धारा, कुँडुलेमा ११९ धारा जडान गरी पानी वितरण भइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । हाल बानपाभित्रका ५०० घरधुरीमा एक घर एक धारा आयोजना निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाका इञ्जिनीयर गौरव शर्माले बताउनुभयो । शर्माले पानीको स्रोत भएको ठाउँमा पनी खेर जाने र स्रोत नभएको ठाउँमा समस्या भएको भन्दै स्रोतलाई व्यवस्थित गरी प्रत्येक घरमा धारा वितरण गर्दा पानीको आपूर्ति सहज हुने बताउनुहुन्छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !