२४ बैशाख २०८१, सोमबार

कुलपति उप्रेतीको शपथ


sa

२१ असोज, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष उक्त प्रतिष्ठानका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँ आजै उक्त पदमा नियुक्त हुनुभएको थियो । सोही अवसरमा कुलपति उप्रेतीले नवनियुक्त सदस्यसचिव जगप्रसाद उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई वर्तमान परिवर्तित समयअनुसार गतिशील र आधुनिक बनाउन आग्रह गर्दै असाधारण प्रकृतिका कला, संस्कृति, मूल्य र मान्यतालाई संरक्षण गर्न नेतृत्व तहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।उहाँले प्रतिष्ठानले कृति प्रकाशनको सङ्ख्या वृद्धिभन्दा पनि गुणात्मक सिर्जना प्रकाशनमा ध्यान दिन तथा संस्थाको गरिमा र मर्यादा बढाउन पनि सुझाव दिनुभयो ।

प्रतिष्ठाननलाई विवादरहित बनाई सबै विधा र पक्षको विकास गरी त्यसलाई सांस्कृतिक रुपान्तरणमा लाग्न पनि उहाँले निर्देशन दिनुभयो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत अन्य पदाधिकारीको सो अवसरमा सहभागिता थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !