१३ जेष्ठ २०८१, आइतबार

टुहुरा सात बालबालिकालाई सहयोग जुट्दै


khotang

११ असोज, खोटाङ । बुबाआमा गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात बालबालिकालाई सहयोग गर्ने हातहरु थपिएका छन् ।

गत साउन १८ गते बुबा चन्द्र किरातको करेन्ट लागेर र विसं २०७३ भदौ १९ गते आमा टलकुमारी राईको गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रूटीका कारण मृत्यु भएपछि उनीहरूका पाँच छोरी र दुई छोराको बिचल्ली भएको हो ।

सात बालबच्चामध्ये १७ वर्षीया जेठी छोरी बुङातुङ (कक्षा–१२), माइली १४ वर्षीया रिमाबुङ (कक्षा–१०), साइली १२ वर्षीया माहुरबुङ (कक्षा–८), काइली दश वर्षीया इलाबुङ (कक्षा–६), गरी चार बालिका बुलापन्थे माविमा अध्ययनरत छन् । यस्तै, आठ वर्षीय जेठो छोरा नाम्साङहाङ (कक्षा–४), छ वर्षीया निवाबुङ (कक्षा–१) र चार वर्षीय कान्छा छोरा तिम्सुङहाङ स्थानीय पारुहाङ प्राविको (बालकक्षा)मा अध्ययनरत छन् ।

दुई वर्षको अवधिमा बुबाआमा दुवै गुमाएपछि सात बालबालिकाको पालनपोषण तथा शिक्षादिक्षामा समस्या परेको स्थानीयले बताएका छन् । सानै उमेरमा बुबाआमा गुमाएका बालबालिका अहिले आफन्तको शरणमा रहेर अध्ययन गरिरहेका छन् ।

अभिभावकबिहीन बालबालिकाका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले असोज महिनाको पारिश्रमिकबाट रु २० हजार रकम प्रदान गर्ने घोषणा गर्नुभयो । तत्कालीन नेकपा (माओवादी केन्द्र)का जिल्ला सचिवालय सदस्य किरातको स्मृतिमा यही असोज ४ गते आयोजना गरिएको कार्यक्रममा प्रमुख चाम्लिङले एक बच्चाको अभिभावकत्व पनि ग्रहण गर्ने घोषणा गर्नुभएको छ ।
आफन्तको इच्छाअनुसार सात बालबालिकामध्ये एकको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेको प्रमुख चाम्लिङले बताउनुभएको छ ।

बुबाआमा दुवै गुमाएपछि बिचल्लीमा परेका बालबालिकाको पालनपोषण तथा पठनपाठनमा सघाउ पु¥याउन समाजसेवी खडेन्द्र राईको अध्यक्षतामा ११ सदस्यीय सहयोग समिति गठन गरिएको छ । ‘स्व चन्द्र किरात तथा टलकुमारी राई परिवार सहयोग समिति’ नाम दिइएको समितिले रसिद छपाएर आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरेको कोषाध्यक्ष गणेश कार्कीले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगर कमिटीले आयोजना गरेको स्मृति दिवसमा सङ्कलन भएको रकम प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले प्रदान गर्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !