२६ बैशाख २०८१, बुधबार

युरिया मल अभाव


yuriya

७ भदौं, बाँके । चाहिएकै बेला जिल्लामा मल अभाव भएको छ ।
कृषि सामाग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् । धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ ।

कृषकहरू भारतबाट अवैधरूपमा आयात गरिएको गुणस्तरहीन मल प्रयोग गर्न बाध्य छन् । सीमानाकाबाट लुकिछिपी ल्याइएका मल सीमावर्ती बजारभन्दा दोब्बर मूल्यमा बिक्री भइरहेको छ । खासगरी सीमा क्षेत्रमा गुणस्तरहीन मलको प्रयोग बढी हुने गरेको छ ।

जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा हाल एक बोरा युरियासमेत मौज्दात छैन । केही मात्रामा डिएपी र पोटास मात्रै छ ।
कृषि र साल्ट ट्रेडिङमा आउने कृषक निराश भएर घर फर्किने गर्छन् । पन्ध्र दिनअघि नै सकिएको युरिया मल आउन अझै एक हप्ता लाग्ने निमित्त कार्यालय प्रमुख रमेशकुमार पौडलले बताउनुभयो । “ किसान दैनिक युरिया मलका लागि आउँछन्, हामीसँग एक बोरा पनि छैन,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार भारतको कोलकातामा रोकिएको मल केही दिनमै भैरहवा हुँदै नेपालगञ्ज ल्याइनेछ । जिल्लाका कोहलपुर, खजुरा, राप्तीपारिका किसान अनुदानको मल नपाएर महँगो मूल्यमा निजी पसल तथा भारतबाट मल किन्न बाध्य छन् । युरिया मल गत महिना ९०६ मेट्रिक टन बिक्री भएको देखिएको छ । धान खेतीका लागि थप ३०० मेट्रिक टन मल आवश्यक पर्ने निमित्त कार्यालय प्रमुख पौडेलले बताउनुभयो । सहकारीमार्फत् अनुदानको मल बिक्री हुँदै आएको छ ।

जिल्लामा गतवर्ष १०३ सहकारीले कृषि सामग्री कम्पनी लिमिटेडबाट मल खरिद गरेका थिए । कम्पनीले सहकारीलाई युरिया रु ७८३, डिएपी रु दुई हजार २३३, पोटास रु एक हजार ६३३ मा उपलब्ध गराउँदै आएको छ । आपूर्ति समितिको बैठकले उनीहरुको स्थान आधारमा भाडा निर्धारण गरेर बेच्दै आएका छन् ।

सोलारबत्ती बिग्रिए

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सुर्खेत रोडमा राखिएका सोलार बत्ती बल्दैनन् । बत्ती जडानकर्ता ठेकेदार कम्पनीले मर्मत गर्ने वा उपमहानगरपालिकाले गर्ने भन्ने विवादका कारण मर्मतमा कसैले चासो देखाएका छैनन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र पुष्पलाल चोकसम्म ७० र तत्कालीन संसद् विकास कोष र जिल्ला विकास समितिको संयुक्त प्राविधिक तथा आर्थिक सहयोगमा जमुनाहादेखि मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयसम्म १५० पोलमा जडान गरिएका सोलार बत्तीमध्ये ६२ वटा बिग्रिएका छन् ।

काठमाडौँस्थित सौर्य इनर्जी प्रालिले जडान गरेको सुरुवाती ७० सोलार बत्तीबारे मात्र आफूसँग जानकारी रहे पनि अन्य ८० कसले जडान गरेको भन्ने बारेमा नेपालगन्ज उपमहानगरपालिकासँग जानकारी छैन ।

उपमहानगरपालिका योजना शाखाका इञ्जिनीयर सुरजकुमार गुप्ताले भन्नुभयो, “बिग्रिएको सौर्य बत्ती मर्मत गर्नेबारे ठेकेदार कम्पनी सौर्य इनर्जीसँग भएको सम्झौता अस्पष्ट भएकोले समस्या छ ।” बत्तीको पाठपूर्जामध्ये कुनै दुई वर्षसम्म त कुनै तीन वर्षसम्म मर्मत गर्नुपर्ने सम्झौता भएको तर सम्झौता मन्त्रालयबाटै भएको हुँदा प्राविधिक कुराहरुबारे हामीलाई जानकारी नभएको उहाँले बताउनुभयो ।

गणेशमान चोकदेखि ट्राफिक चोकसम्म २८ सोलार बत्तीमध्ये दुई र गणेशमान चोकदेखि बिपी चोकसम्मको २६ मध्ये सात सोलार बत्ती बिग्रिएको छ । सबैभन्दा बढी बिपी चोकदेखि धम्बोझी चोकसम्म ३७ मध्ये २४ सोलार बत्ती बिग्रिएका छन् तर १०÷१५ मात्र सोला बत्ती बिग्रिएको आफूलाई जानकारी भएको इञ्जिनीयर गुप्ताले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !