१३ जेष्ठ २०८१, आइतबार

गोँगबु क्षेत्रको विसंगति हटाउन व्यवसायी एकजुट


New bus park

१२ साउन, काठमाडौँ । नयाँ बसपार्क क्षेत्रका होटल व्यवसायीले गोँगबु, नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति, विसंगति हटाउन व्यवसायी एकजुट भएका छन् ।

नयाँ बसपार्क क्षेत्रमा हुने लुटपाट, लागुऔषध, तेस्रोलिङ्गी, यौन व्यवसाय, ट्याक्सीको मनोमानी, होटल गाइडलाई हटाउन व्यवसायी एकजुट भएका हुन् ।

नेपाली होटल व्यवसायी संघ, काठमाडौँ होटल व्यवसायी संघ, बालाजु होटल व्यवसायी संघ र संयुक्त होटल व्यवसायी संघले आज एक कार्यक्रमको आयोजना गरी गोँगबु क्षेत्रमा देखिएको विकृति हटाउन सबै क्षेत्र एकजुट हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले समाज परिवर्तन र मुलुकको विकासका लागि आफैँ अगाडि बढ्नुपर्ने बताउनुभयो । “सबै समस्या प्रहरीले चाहेरमात्र समाधान गर्न सक्दैन यसका लागि नागरिक सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो ।

परिसरका प्रमुख पोखरेलले सुरक्षा दृष्टिकोणले गोँगबु क्षेत्र संवेदनशील क्षेत्र भएको भन्दै यसलाई हटाउनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । प्रहरी सुधार भएमात्र समाज सुधार हुने भन्दै सुधार नहुने प्रहरीलाई कारबाही गरिने स्पष्ट पार्नुभयो । मूल्यमान्यता र आदर्शमा रहेर होटल व्यवसाय गर्न उहाँले सबै व्यवसायीलाई आग्रहसमेत गर्नुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले विकृति गर्ने होटलको पक्षमा काठमाडौँ महानगरपालिका नभएको बताउनुभयो । “पैसा धेरै आउने नाममा होटल व्यवसायीले जे पायो त्यो काम गर्न पाउँदैनन्”, उहाँले भन्नुभयो । उहाँले स्थानीय तहमा व्यवसाय दर्ता गरेर चलाउन आग्रह गर्नुभयो ।

टोखा नगरपालिका वडा नं ९ का अध्यक्ष जोगप्रसाद नेपालले गोँगबु क्षेत्रमा देखिएको विकृति र विसंगति हटाए मात्र सभ्य समाज निर्माण हुने बताउनुभयो । “होटल व्यवसायीकै संरक्षणका कारण होटल गाइडले काम गरिरहेका यसको अन्त्यका लागि होटल व्यवसायी नै गम्भीर हुनुपर्छ”, उहाँले भन्नुभयो ।

सामुदायिक सेवाकेन्द्र गोँगबुका अध्यक्ष शैलेश कार्कीले होटल व्यवसायीभित्र देखिएका समस्या समाधानका लागि व्यवसायी नै एकजुट भएको बताउनुभयो । बसपार्कलाई सबैको रोजाइको क्षेत्र बनाउनका लागि पनि यस क्षेत्रको विकृति विसंगति हटाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

समाज उत्थान महिला मञ्च उपाध्यक्ष जानुका ढकाल नयाँ बसपार्कभित्रको विकृति विसंगति हटाए मात्र समाज सुध्रिने बताउनुभयो । महिला उपकार समाज मञ्च अध्यक्ष लक्ष्मी भण्डारीले एक दुई वटा होटल व्यवसायीले गोँगबु क्षेत्रकै होटल व्यवसायको बद्नाम भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली होटल व्यवसायी संघका अध्यक्ष अमरबहादुर दाहाल, महासचिव गणेश ढकाल, काठमाडौँ होटल व्यवसायी संघका अध्यक्ष पदम लिम्बू, मित्रनगर विकास तथा सुधार समिति वरिष्ठ उपाध्यक्ष यामबहादुर कुँवरलगायतले नयाँ बसपार्कलाई काठमाडौँको नमूना स्थान बनाउन सबै व्यवसायी लाग्नुपर्नेमा जोड दिनुभयो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !