२७ बैशाख २०८१, बिहिबार

काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङ सहितको सब–वे निर्माण गर्ने


ktm metropolitan city office

१२ असार २०७३:- काठमाडौं, उपत्यकाको पार्किङ अवस्थालाई मध्यनजर गर्दै महानगरपालिकाले खुल्लामञ्च र लैनचौरमा तीन तले अन्डरग्राउण्ड पार्किङ सहितको सब–वे निर्माण गर्ने भएको छ।
महानगरको प्रारम्भिक अध्ययनअनुसार करिब ५ अर्ब रुपैयाँको लागतमा पार्किङ सहितको सब–वे निर्माण हुने भएको छ। यद्यपी कम्पनीले निर्माण गर्ने समयमा लगानी घटबढ हुन जाने बताइएको छ।

महानगरले बागबजार र न्युरोड क्षेत्रमा बढ्दो क्रममा रहेको रहेको पार्किङ समस्यालाई निराकरण गर्ने भन्दै खुल्लामञ्चमा तीन तले पार्किङ निर्माण गर्न लागेको हो, पार्किङ निर्माणको लागि दुबै ठाउँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भइसकेको र छिट्टै सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा निर्माणको लागि टेन्डर आवेदन गरिने महानगर पिपिपी महाशाखाका उपनिर्देशक शिवराज अधिकारीले जानकारी दिए्।

उनका अनुसार यी दुवै ठाउँमा बजार, कफीसप र पसल सहितको बेसमेन्ट पार्किङ तथा सब–वे बनाउन सकिने गरी परामर्श दातृ संस्थाले प्रतिवेदनमा दिएको छ। उनले भने, ‘अब यसबारे सरकारसमक्ष औपचारिक प्रस्ताव पेश गर्छौँ।’

सरकारबाट अनुमति प्राप्त भएपछि अन्डर ग्राउण्ड पार्किङ निर्माणको लागि जग्गाको अनुमति र लगानीको मोडेलमा निर्णय हुँदै काम अगाडि बढ्ने अधिकारीले बताए। तर सब–वेबाट भने कुनै आम्दानी नहुने हुँदा निर्माण कम्पनीले लगानी गर्न नचाहेकोले सरकारले नै लगानी गर्नुपर्ने अवस्था पनि आउन सक्ने उनको भनाई छ।

यी दुई ठाउँमा अण्डरग्राउण्ड पार्किङ निर्माणसँगै न्युरोड, बागबजार, असन, इन्द्रचोक, लैनचौर र ठमेल एरियाको पार्किङ व्यवस्थित हुने उनको दाबी छ। सुविधासम्पन्न पार्किङ निर्माणसहित त्यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा पनि सहज हुने र रोडको पार्किङ बन्द गराउँदै न्यूरोड र ठमेललाई ‘नो पार्किङ’ एरियाको रुपमा विकास गरिने अधिकारीले बताए।

‘खुल्लामञ्चको ४१ रोपनी जग्गामा निर्माण हुने अण्डरग्राउण्ड पार्किङको दुई तल्लासम्म पुरै पार्किङ रहने छ। तेस्रो तलामा भने मोटरसाइकलको पार्किङ र स्टल रहने गरी निर्माण हुने उनले बताए। यसरी निर्माण हुने पार्किङ भवनमा १ हजार भन्दा बढी गाडी तथा मोटरसाइकलहरु रहन सक्ने छन्।

खुल्ला मञ्चको पार्किङ सब–वे मार्फत बागबजार, न्यूरोड, असनमा भित्रभित्रबाटै जान्न मिल्ने गरी निर्माण हुने उनले बताए। लैनचौरमा बन्ने अण्डरग्राउण्ड पार्किङमा ४ सय गाडीहरु अट्न सक्नेगरी एउटा सब–वे पनि निर्माण हुने छ।

शहरी क्षेत्रमा पर्याप्त पार्किङ नहुँदा सडक छेउमै सवारी पार्किङ गर्नुपर्ने वाध्यता छ। अण्डरग्राउण्ड पार्किङ सञ्चालनपछि समग्र काठमाडौंको ट्राफिक व्यवस्थापन सहज हुने अपेक्षा महानगरले गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !