२२ बैशाख २०८१, शनिबार

पक्राउ परेका नक्कली चिकित्सकको सम्पत्ति खोजिँदै


fake doctor

असार ९, २०७३- प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर ठगी गरेको अभियोगमा पक्राउ गरी हिरासतमा राखिएका ३६ जनाको सम्पत्तिको खोजी सुरु गरेको छ ।

आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक हुँ भन्दै ठगी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका ३६ जनाको बिगो कायम गर्न अनुसन्धानमा संलग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूको सम्पत्ति विवरण संकलन सुरु गरेको हो ।

पक्राउ परेका नक्कली चिकित्सकमाथि प्रहरीले ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ । ठगीको महल २ मा टेकेर आफ्नो पहिचान ढाँटेर आफ्नो फाइदा र अरूको घाटाका लागि काम गरी ठगी गरेको अभियोग लगाएकाले कैद र सजायको मागका लागि बिगो आवश्यक पर्छ ।

ब्युरो प्रमुख डीआईजी नवराज सिलवालका अनुसार पक्राउ परेका चिकित्सकमाथिको अभियोग पुष्टिका लागि चार तहको प्रमाण संकलन भइरहेको छ । उनका अनुसार चिकित्सकका रूपमा काम गर्न उनीहरूले पेस गरेको शैक्षिक प्रमाणपत्रको वैधताको पुष्टि भइसकेको छ ।

ब्युरो अधिकारीका अनुसार उनीहरूविरुद्ध आएको जाहेरी, उपचारका क्रममा अंगभंग भएका वा ज्यान गुमाएको निवेदन र नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक बनेर गरेको कामको विवरण संकलनसँगै आर्थिक हैसियत र त्यसको स्रोतको खोजीलाई समेत ब्युरोले अनुसन्धानको दायरामा ल्याएको छ ।

‘नेपाल मेडिकल काउन्सिलबाट अनुमति पाएका सबै चिकित्सकको प्रमाणपत्रको प्रमाणीकरणको प्रक्रियालाई अगाडि बढाइसकेका छौं,’ डीआईजी सिलवालले भने, ‘नेपाल र नेपाल बाहिरको जति प्रमाणपत्रहरू छन्, ती सबै अनुसन्धानको दायरामा छन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !