२० बैशाख २०८१, बिहिबार

जङ्गली जनावरको त्रासमा निकुञ्ज वरिपरिवासी


Tiger फाइल फोटो

वीरगञ्ज, पर्सा । पर्साको पटेर्वासुगौली–२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो । शरीरका विभिन्न भागमा चोट लागेका उहाँको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

गत २०८० पुस ८ गते साँझ बाघले आक्रमण गरी पटेर्वा सुगौली–२ थरकट्टी गाउँका ३२ वर्षीय मनोज महतो उराँवको ज्यान लियो । साँझको समयमा शौच गर्न जानुभएका उहाँको शव क्षतविक्षत अवस्थामा बिहान फेलापरेको थियो । नेपाल प्रहरी र गाउँलेले जङ्गलदेखि करिब ५० मिटर टाढा बाघले मारेको अवस्थामा शरीरको केही भागमात्र फेलापरेको थियो ।

सोमबार साँझमात्र पर्साको जिराभवानी गाउँपालिकाको वडा नं ४ मा बाघले पूर्व वडाध्यक्ष सुभाष राउतसहितका स्थानीयका बाख्रालाई बाघले आक्रमण गरेको छ । सोही गाउँपालिकाको वडा नं ५ हरैया पहाडीटोलस्थित राउतले पालेको चौपायालाई खोरभित्रै पसेर बाघले आक्रमण गरी मारेको हो । बाघले दुईवटा बाख्रालाई खोरमै मारेको र एउटा खसीलाई भने घिसारेर लगेको प्रहरी चौकी शङ्करसरैयाले जनाएको छ ।

यस्तै गत फागुन १६ गते पर्साको पर्सागढी नगरपालिका–७ निवासी ललन यादवको गोठमा राखेका सातवटा बाख्रा मारेको बाघले सोही राति पर्सागढी –१ कोलाभार निवासी मायादेवी मोक्तानको गोठमा रहेको चार बाख्रा खाएको थियो । गत कात्तिक ८ गते जङ्गली हात्तीले आक्रमण गर्दा पर्साको पर्सागढी –१ निवासी एकवाल हजराको मृत्यु भएको थियो । सोही राति ती हात्तीले सो गाउँका एक दर्जन स्थानीयको घर भत्काएर अन्नबाली खाएको थियो ।

विगत दुई महिनाको अवधिमा पर्साको पटेर्वा सुगौली, पर्सागढी नगरपालिका र जिराभवानी गाउँपालिकामा बाघ र हात्तीको आक्रमणबाट दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएको र बाख्रा, गाई र भैँसी गरी तीन दर्जनभन्दा बढी पशुचौपाया मारेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिनुभयो ।

पर्साका विभिन्न गाउँबस्तीमा बाघ, हात्तीलगायतका जङ्गली जनावरको आक्रमणबाट बर्सेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् । जङ्गली जनावरको आक्रमणमा परी कतिपयको तत्कालै मृत्यु हुने गरेको छ भने कतिपयको तत्काल उपचार भए पनि घाउमा इन्फेक्सन भएर केही समयपछि पनि मृत्यु हुने गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनजङ्गलबाट आउने बाघ, हात्तीलगायतका जङ्गली जनावरले मानवबस्ती पसेर मानवीय तथा पशुचौपायालाई क्षति पुर्याउनुको साथै गहुँबाली तथा तरकारीबाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनालीको सुरक्षाका लागि राति जाग्राम बस्न बाध्य भएका छन् ।

पर्साको जिराभवानी, ठोरी, पटेर्वा सुगौली, पर्सागढी र सखुवा प्रसौनी गाउँपालिकाका एक दर्जन गाउँका किसान जङ्गली जनावरबाट पीडित भएका छन् । वनजङ्गलबाट आउने चित्तल, हात्ती, हरिण, निलगाई, बँदेल, बाँदर, भालु, मयूरलगायतका जङ्गली जनावरले गहुँ, मकै, आलु, तोरीलगायतका बाली सखाप पार्ने गरेकाले जोगाउन जाग्राम बस्न बाध्य भएको ठोरी गाउँपालिकाका रञ्जित श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय वनमा घेरबार नहुँदा दैनिकजसो जङ्गलबाट आउने जङ्गली जनावरले बालीनली नष्ट पार्ने गरेको श्रेष्ठले बताउनुभयो । खासगरी रातिको समयमा आउने जङ्गली जनावरले गहुँबालीमा व्यापक क्षति पुर्याउने गरेकाले क्षति न्यूनीकरणका लागि सो ठाउँमा मचान बनाएर रातिको समयमा निगरानी गरिरहेको जिराभवानी गाउँपालिकाका किसान शङ्कर महतोको भनाइ छ ।

रातिको समयमा आउने हात्तीलाई धपाउन किसानले पटका पड्काउने र अन्य जङ्गली जनावरलाई भगाउन टिन ठटाउने र होहल्ला गर्ने गरेको महतोले बताउनुभयो । स्थापनाकालदेखि नै पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनको जीवजन्तुले बर्सेनि उत्पात मच्चाँदै व्यापक धनजनको क्षति पुर्याउँदै आएकाले यसको नियन्त्रणको ठोस पहल गर्न नयाँ सरकारसँग स्थानीयले आग्रहसमेत गरेका छन् ।

जङ्गली जीवजन्तुको उत्पातबाट आफूहरूको जीवन नै सङ्कटमा परेको छ, पटेर्वा सुगौली–२ का स्थानीय सुमन अधिकारी भन्नुहुन्छ, “कतिबेला जङ्गलबाट बाघ, भालु र हात्ती आउँछ र आक्रमण गर्छ भन्ने त्रासमा हामी बाँचिरहेका छौँ ।” जङ्गली जनावरका कारण आफू न स्वतन्त्ररूपमा हिँडडुल गर्न सकिरहेका छौँ, न त निर्धक्क घरकै सुत्न पाइरहेका छौँ”, उहाँको दुखेसो छ ।

पटक–पटक जङ्गली जनावर नियन्त्रणका लागि स्थानीयवासीबाट माग उठ्दै आए पनि सरकारीस्तरबाट खासै कुनै पहल नभएको सुनाउँदै ठोरी गाउँपालिकाका रामबहादुर श्रेष्ठ भन्नुभयो, “हामीले जङ्गली जनावरको आतङ्क रोक्न धेरैपटक आवाज उठायौँ तर अहिलेसम्म हाम्रो समस्या समाधान भएन ।” बाघ, हात्ती, अर्ना, भालुलगायतका जङ्गली जनावरले दिउँसै आक्रमण गर्न थालेपछि आजित भएका स्थानीयवासीले त्यसको दीर्घकालीन समाधानका लागि सरकारलाई दबाब दिन र आफू पनि सक्रिय रहन जनप्रतिनिधिसँग समेत आग्रह गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त साहले राष्ट्रिय वनजङ्गल आसपास क्षेत्रमा जङ्गली जनावरले आतङ्क मच्चाउँदै आएको स्वीकार्दै समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो । बजेट तथा आवश्यक कानुन अभावका कारण समग्र जङ्गल क्षेत्रमा घेरबार गर्न नसकिएपछि जङ्गली जनावरले बढी क्षति पुर्याउने क्षेत्रमा ठूला खाल्डो खनेर तत्कालीन समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ ।

आफूहरूसँग बाघ व्यवस्थापनको उचित टोली नभएकाले समस्या निरन्तर बढेको उहाँको भनाइ छ । तर यो समस्या समाधानबारे आफूले सम्बन्धित निकायमा पत्राचार गरेको जनाउनुभयो । “बाघको उद्धार गर्ने स्पेसल टोली चितवन राष्ट्रिय निकुञ्जमा छन्”, उहाँ भन्नुभयो, “त्यहीबाट टोली माग गरेका छौँ । टोली आइसकेपछि बाघको उचित व्यवस्थापन तथा उद्धारमा जुट्नेछौँ ।” पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका वाडेन रामचन्द्र खतिवडाले मानवबस्तीमा बाघ पसेर मानवीय क्षति पुर्याउने कार्यप्रति आफू गम्भीर रहेको र तत्काल समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !