२० बैशाख २०८१, बिहिबार

एकै परिवारका ५ जना नेपालीको भारतमा ट्रकको ठक्करबाट मृत्यु


दुर्घटना

भेरीगङ्गा, सुर्खेत । ट्रकले ठक्कर दिँदा भारतमा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँचजनाको मृत्युु भएको छ ।

भारतको कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका–७ का एउटै परिवारका पाँचजना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुर्खेत चौकुने–७ अमलाटाकुराका २७ वर्षीय रतन नेवारसहित उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उहाँका छोरा पाँच वर्षीय मिलन, अर्का छोरा दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने–७ का वडाध्यक्ष धनिराम धमलाले बताए ।

मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचार गराई रहेको र बिरामी दाइलाई भेट्न उनीहरु फर्किने बेलामा ट्रकले ठक्कर दिइएको जानकारी प्राप्त भएको वडाअध्यक्ष धमलाले जानकारी दिए ।

मृतक नेवारका परिवार एक वर्षदेखि रोजगारीका लागि भारत गएका थिए । चौकुने घरमा बुढा बुबाआमा मात्रै रहेको जनाइएको छ ।

बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमलाले बताए । घटनाको अनुसन्धानका लागि त्यहाँको प्रशासनसँग माग गरिएको त्यहाँ रहेका नेपालीलाई उदृत गर्दै वडाध्यक्ष धमलाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !