४ जेष्ठ २०८१, शुक्रबार

भूकम्प अपडेट : १३३ जनाको मृत्यु, १८५ जना घाइते


जाजरकोट भूकम्प

काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ३३ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै प्रभावित क्षेत्रमा पुगेर उद्धारको पहलमा जुटिरहेका छन् । उनी चिकित्सक टोली र राहतसामग्रीसहित प्रभावित क्षेत्रमा पुगेका हुन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार ३३ घाइतेको जिल्ला अस्पताल जाजरकोट र रुकुम पश्चिमबाट हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

राहत तथा उद्धारका लागि चिकित्सकसहितको टोली घट्नास्थलमा पुर्याउने काम भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए । काठमाडौँ, सुर्खेत र नेपालगञ्जमा चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको उनले बताए ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !