२० बैशाख २०८१, बिहिबार

मन्त्री रिजालद्वारा पेट्रोलियम पदार्थको बिलिङ सिस्टमको शुभारम्भ, ढुवानी खर्च घट्ने


रमेश रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाएका छन् ।

हिजो शुक्रबार मात्रै ट्यांक ट्रक लकिङ प्रणालीको शुभारम्भ गरेका मन्त्री रिजालले आज शनिबार बिरगंजस्थित नेपाल आयल निगमको कार्यालयमा बिलिङ सिस्टमको आरम्भ गरेका छन् ।

भारतबाट पाइपलाईन मार्फत नेपाल आउने पेट्रोलियम पदार्थको बिलिङ सम्बन्धि कार्य बिरगंजस्थित आयल निगमको कार्यालयबाट हुनेछ । बिलिङ सिस्टम सुरु भएसगै यसले पेट्रोलियम पदार्थ बिक्री वितरणमा निक्कै सहज हुने मन्त्री रिजालले विश्वास ब्यक्त गरे ।

आयल निगमको बिरगंजस्थित कार्यालयबाटै बिलिङ दिने कामको सुरुवात भएकोले अब बिलिङका लागि अमलेखगञ्ज धाउनुपर्ने अवस्थाको समेत अन्त्य भएको छ ।
रमेश रिजाल

 

यस अघि निगमको बिरगन्ज स्थित कार्यालयले इण्डियन आयलको रक्सौल डिपोबाट निगमको लागि सबै प्रकारका पेट्रोलियम पदार्थ लोड गराउने एवं पर्सा, बारा तथा रौतहट जिल्लाको केही डिलरहरूलाई बिक्री विरतणको ब्यवस्था मिलाउने गरेको थियो । २०७६ बैसाख २६ गतेदेखि भने पेट्रोलियम पाइपलाईनबाट आयल हुन लागेपछि यस कार्यालयले गर्ने बिलिङ सम्बन्धी कार्य अमलेखगंजस्थित निगमको कार्यालयले गर्ने गरेको थियो ।

आज मन्त्री रिजालले बिलिङको कार्य आरम्भ गर्नु भए संगै यसबाट बारा, पर्सा, रौतहट, गरी करिब ११५ वटा डिलरहरूले सेवा प्राप्त गर्नेछन् । मन्त्री रिजालले आज बिलिङ काउन्टरबाट काटिएको पहिलो बिलिङ ढुवानीकर्तालाई प्रदान गरेका थिए ।

अहिलेका लागि निगमको वीरगञ्ज स्थित कार्यालयबाट डिजेलको बिलिङ गरिने र पेट्रोल तथा मट्टीतेलको प्रादेशिक कार्यालय अमलेखगञ्जबाटै हुने व्यवस्था मिलाइएको छ । वीरगञ्ज स्थित कार्यालयबाट बिलिङ सुरु गर्दा ढुवानी व्यवसायीलाई सहज हुने र ढुवानी खर्चसमेत कम लाग्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !