२० बैशाख २०८१, बिहिबार

पेट्रोल ढुवानीमा ट्यांकट्रक लकिङ सुरु, अब पेट्रोलियम पदार्थ चुहावट रोकिने मन्त्री रिजालको विश्वास


रमेश रिजाल

काठमाडौँ । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ट्यांक ट्रक लकिङको शुभारम्भ गरेका छन् । अमलेखगञ्ज स्थित नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक कार्यालय परिसरमा मन्त्री रिजालले पेट्रोल लोड गरिएको ट्यांकरमा ताल्चा लगाएर ट्यांक ट्रक लकिङको शुभारम्भ गरेका हुन् ।

२०७५ साल अगाडि निगमले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दा ट्यांक ट्रकहरूमा लिड सिल प्रयोग गर्ने गरेको थियो । २०७५ श्रावण १ गतेदेखि निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ आयात गर्ने सबै ट्याक्टरहरुमा इण्डियन आयल कर्पोरेशनले प्रयोगमा ल्याए बमोजिमको सिङ्गल लकिङ सिस्टम अनुसार एउटा ताला लगाई पेट्रोलियम पदार्थ आयात गर्दै आईरहेको छ । हाल अमलेखगंजबाट स्टक ट्रान्स्फर भई अन्य स्थानमा जाने ट्यांकरहरूमा पनि लक गरी पठाउने गरिएको छ ।

ट्यांक ट्रकमा लकिङ सिस्टम लगाउने प्रावधान अनुसार अहिले दोस्रो चरणको लकिङ कार्य अन्तरगत निगमको डिपोहरूबाट पेट्रोल पम्पसम्म जाने ट्यांकट्रकमा पनि ताल्चा लगाएर पठाउन सुरु गरिएको हो । जसअनुसार शुक्रबारबाट प्रहरी कल्याण कोष मार्फत संचालनमा रहेको नेपाल प्रहरीको पथलैया स्थित पेट्रोल पम्पको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर, सहाकारी संस्था अन्तर्गत संचालनमा रहेको साझा पम्प र भरतपुरको ट्यांकर तथा निजी क्षेत्रबाट संचालित कैलाश आयल नारायणगढको ट्यांकरमा ताल्चा लगाउन सुरु गरिएको हो ।

सबै पेट्रोल पम्पमा ढुवानी हुने ट्यांक ट्रकमा लकिङ सिस्टम केहि दिनमै सम्पन्न हुनेछ । ट्यांक ट्रक लकिङ सिस्टमले पेट्रोलियम पदार्थ चुहावट रोकिने मन्त्री रिजालले विश्वास व्यक्त भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !