२२ बैशाख २०८१, शनिबार

मुगु जिप दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते


दुर्घटना

सिमकोट, हुम्ला । मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप (बोलेरो) दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन् । सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो ।

मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । उनका अनुसार सो जिपमा चालकसहित नौ जना सवार रहेका थिए ।

प्रनाउ बस्नेतले भने, “मृतकमा सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार, पिउस परियार भएको शोरु प्रहरी चौकीले सनाखत गरेको छ ।”

जिपमा सवार हुम्लाका पाँच जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । हुम्लाका घाइते यात्रु उजिर बोहरा र अन्य मुगुका घाइतेलाई मुगु सदरमुकाम गमगढी स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

दुर्घटनामा परी चालकसहित मुगुका दुई यात्रु र हुम्लाका बोहरा सख्त घाइते भएका छन् । घाइते सबैको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि मुगु जिल्ला बाहिर लैजानुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा दुर्घटना भएको हो । जिल्ला सदरमुकामतर्फ जाँदै गरेको उक्त जिपमा चालकसहित नौ यात्रु थिए । जिप दुर्घटनाको कारणबारे अहिलेसम्म केही खुलेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !