११ जेष्ठ २०८१, शुक्रबार

सप्तकोशीमा साढे तीन दशकयताकै उच्च बाढी, सबै ५६ वटै ढोका खोलियो


सप्तकोशी

विराटनगर । कोसी प्रदेशका पहाडी जिल्लामा भारी वर्षाको कारण सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव साढे तीन दशकयताकै उच्च भएको छ । पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव उच्च भएको हो । पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको जनाइएको छ ।

प्रहरी नायब उपरीक्षक सिंहले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको जानकारी दिँदै आज बिहान ४ बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएको बताए । यद्यपि पानीको वहाव केही घट्दो क्रममा रहेको छ ।

सप्तकोसी नदीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ । ब्यारेजको पुलमा समेत जोखिम हुनसक्ने देखिएपछि प्रशासनले एकतर्फी रुपमा यातायातका साधन संचालन गराएको छ ।

अति धेरै भारवहन भएका सवारी साधन संचालनमा रोक लगाइएको छ । आज बिहान सप्तकोसीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक पुगेतापनि ७ बजे केही घटेर ४ लाख ५२ हजारमा झरेको छ । यो पानीको बहान साढे तीन दशकयताकै उच्च मापन भएको हो ।

सप्तकोशीमा सन् १९८९ मा ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो । ३४ वर्षपछि यस वर्ष कोशीमा पानीको बहाव उच्च देखिएको हो । पानीको बहाव उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार कट्यो भने सचेत गराउन रातोबत्ती बाल्ने गरिएको छ । यस्तै दुईलाख कट्यो भने अर्को बत्ती बालिन्छ भने तीन लाख कटेपछि नदीको बीच भागमा अर्को बत्ती बाल्ने गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !