२० बैशाख २०८१, बिहिबार

मन्त्री सवार गाडी दुर्घटना : घाइते श्रीमतीसहित २ जनाको मृत्यु


पृथ्वीबहादुर सिंह

काठमाडौं । सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी सिंहको मृत्यु भएको हो । दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंहसहित ४ जना गम्भीर घाइते भएका थिए ।

बझाङमा भएको दुर्घटनामा सिंहसहित ५ जना घाइते भएका थिए । स्थानीय पोलिक्लिनिक उपचारका क्रममा अमृता र जयादेवीको मृत्यु भएको हो । दुई जनाको मृत्यु भएपछि घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी केदास्यु गाउँपालिका–१ धारछडामा दुर्घटनामा परेको थियो । दुर्घटनापछि मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, बुहारी नाता पर्ने जयादेवी सिंह, अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !