२३ बैशाख २०८१, आइतबार

गृहमन्त्रीको निर्देशन – अनावश्यक दबाब म झेल्छु, तपाईंहरू काम गर्नूस्


नारायणकाजी श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताएका छन् । आज बिहीबार कारागार व्यवस्थापन विभाग अवलोकनपछि विभागका अधिकारीहरूको ब्रिफिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

‘कारागारलाई सुधारगृहका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई हामीले स्थापित गर्नुछ । त्यो अनुकुल वातावरण बनाउनुछ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘त्यसमा हामीले गृहकार्य गर्नुपर्ने आवश्यकता छ ।’

बजेटलगायतका कारण उक्त कार्यका लागि सरकारका पनि केही सीमाहरू भएको बताए । तर, साच्चिकै सुधारगृह बनाउने काममा योजना बनाएर लाग्नुपर्ने र त्यसमा आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

एकातर्फ सीमित स्रोतसाधनका बाबजुत धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारी रहेको र अर्कातर्फ त्यहाँ भित्रैका नाइकेहरूको अनावश्यक दबाबको कुरा पनि आफूले सुनेको श्रेष्ठले बताए ।

उनले नीति र विधि छाडेर अनावश्यक दबाबमा आफूले काम नगर्ने श्रेष्ठको भनाइ थियो । ‘अनावश्यक दबाब हामी झेल्छौँ । मैले झेल्छु,’ श्रेष्ठले भने । आफूले दबाब झेल्ने बताउँदै श्रेष्ठले विभागका अधिकारीहरूलाई तत्काल सुधारको दिशामा लाग्न निर्देशन दिए ।

‘तत्काल के के गर्नुपर्छ भन्ने लिस्ट बनाउनुस् । त्यो लिस्ट आओस् हामी त्यसलाई कार्यान्वयनमा लान्छौँ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने । उनले यथास्थितिमा जस्तो चलिरहेको छ त्यस्तै चलिरहोस् भनेर अब नहुने श्रेष्ठले बताए । अब विकृति र खराब कार्यहरूमा व्यापक परिवर्तन आवश्यक रहेको उनको भनाइ छ ।

ब्रिफिङका क्रममा विभागका अधिकारीहरूले सीमित स्रोतसाधनका बाबजुत धेरैको व्यवस्थापन गर्नुपरेकोबाध्यताले क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपरेको गुनासो गरेका थिए । त्यस्तै भौतिक पूर्वाधार तथा बजेट लगायका कारण पनि आफूहरूलाई व्यवस्थापनमा समस्या भइरहेको उहाँहरूले बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !