२६ बैशाख २०८१, बुधबार

पशुपतिनाथ आसपासको सुरक्षा व्यवस्था कडा, ३५ सय प्रहरी परिचालन गरिने


पशुपतिनाथ आसपासको सुरक्षा व्यवस्था कडा

काठमाडौँ । यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

पशुपतिनाथ क्षेत्रमा आज शुक्रबारदेखि नै प्रहरी परिचालन गरिएको छ । भोलि शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ ।

महाशिवरात्रिलाई मध्यनजर गरेर सशस्त्र प्रहरीले समेत आफ्नो एक हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार व्यवस्थित तरिकाले दर्शन गर्न पाउने व्यवस्थाका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । यस वर्ष कसैलाई पनि मन्दिर प्रवेशको पास दिइएको छैन । यसैगरी पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजालगायत नशालु पदार्थ पूर्णरूपमा बेचबिखन र सेवनसमेतमा प्रतिबन्ध लगाइएको छ ।

दर्शनका क्रममा असहज भएका दर्शनार्थीका लागि ठाउँ–ठाउँमा प्रहरी हेल्फ डेस्क, एम्बुलेन्सलगायतको सेवाका लागि समेत टोली खटाइएको प्रहरीले जनाएको छ । भोलि शनिबार हुने महाशिवरात्रि मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा साधु–सन्तको घुइँचो बढेको छ ।

यस वर्ष शिवरात्रि मेलामा कम्तीमा पनि २० लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको र शान्ति सुरक्षा पनि बलियो बनाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । शिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक महाशाखाले १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ यस्तै सिफल चौरबाट जगबागेश्वरीतर्फ, लामापोखरी कुटुबालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगङ्गाबाट गौशलातर्फ सवारी आवागमन निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पशुपति क्षेत्रमा आज रातीदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनहरुलाई चावहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने भएको हो ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न चालकहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरे ।

पशुपतिनाथ आसपासको सुरक्षा व्यवस्था कडा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !