२२ बैशाख २०८१, शनिबार

आज मनाइने भनिएको २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस स्थगित


भूकम्प

काठमाडौँ । आज मनाइने भनिएको २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस स्थगित गरिएको छ । सरकारले कास्कीको पोखरामा हिजो विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज विदा दिएको छ ।

विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

पोखरामा हिजो भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै शोकको घडीमा आज सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ । विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने कार्यक्रम रहेको थियो । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउन लागिएको थियो ।

भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायतका क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले उक्त नारा तय गरिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको छ । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !