१४ बैशाख २०८१, शुक्रबार

सुकुम्बासीद्वारा काठमाडौं महानगर घेराउ, महानगर पनि पछाडि नहट्ने


सुकुम्बासीद्वारा काठमाडौं महानगर घेराउ

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिका आज घेराउ गरेका छन् । काठमाडौं महानगरले थापाथलीस्थित सुकुम्वासी बस्तीमा हिजो डोजर चलाएर हटाउन खोजेपछि आक्रोशित स्थानीयले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

आफूहरुको उचित व्यवस्थापन नगरी हटाउन खोजिएको भन्दै सोको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् । यद्यपि महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार बस्ती हटाउन महानगर पछाडि नहट्ने भन्दै महानगर ‘एक्सन’मा उत्रिइसकेकाले हटाउनुपर्ने बस्ती हटाएरै छाड्ने बताएपछि थप द्वन्द चर्किने देखिएको छ ।

एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेपछि महानगरले हिजो सोमबार थापाथलीस्थित प्रसूतिगृह पछाडिको सुकुम्बासी बस्तीमा स्थिति तनावपूर्ण भएर झडप हुँदा महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ नगर प्रहरी घाइते भएका थिए ।

उनीहरुले हिजो महानगरका मेयर बालेन्द्र शाह (बालेन )विरुद्ध नारावाजी गर्नुका साथै बस्ती हटाउन आएको महानगरको टोलीमाथि हिजो सुकुम्बासीहरु घरेलु हतियार खुकुरी र ढुंगामुढासहित उत्रिएका थिए । उनीहरुले हातमा खुकुरी बोकेर सडकमा निस्किँदै बस्ती हटाउन आए ‘बाँकी नराख्ने’ चेतावनी दिएका थिए ।

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेका अनुसार आज बिहान सुकुम्बासी बस्तीका ३ सय भन्दा धेरै व्यक्तिहरु महानगर घेर्न गएका हुन् । काठमाडौँको थापाथलीबाट नारा जुलुस गर्दै सुन्धारास्थित महानगरको कार्यालयअघि केहीबेर नारा लगाएर उनीहरु पुन: थापाथली नै फर्किएका छन् ।

यो पनि पढ्नुहोस्

थापाथलीको सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाउन खोजेपछि तनावग्रस्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !