१८ बैशाख २०८१, मंगलबार

बेनी बजारमा मध्यराति बाढीको विध्वंश


flood
म्याग्दी- म्याग्दीको सदरमुकाम बेनीमा अविरल वर्षासँगै आएको बाढीले १ सयभन्दा धेरै घरमा क्षति पुगेको छ। शनिबार राति बेनी-पाखापानी सडकखण्डअर्न्तरगत आँपरुख सामुदायिक वन तथा आसपासका क्षेत्रबाट क्याम्पस चोकमा पसेको बाढीले क्याम्पसचोक, न्युरोड, गणेशटोलका घरमा क्षती पुगेको छ।
क्याम्पसचोकमा करिब ६ फिट हिलो जमेको छ। बाढीले ढुंगासहित सडकखण्डबाट बगाएर ल्याएको लेदोले जमेपछि सुनचाँदी पसल, मोबाइल पसल, हार्डवयर, मासु, किराना, स्टेशनरी, डेरी, होटल लगाएतका सर्वसाधारणको घरका सटरबाट लेदोभित्र पसेको छ।
‘एक्कासी बाढी आएपछि भागाभाग भयो। अहिलेसम्मकै ठूलो बाढी हो,’ सुनचाँदी ब्यवसायी तप्तबहादुर विश्वकर्माले भने। उनले मध्यरातमा बाढी बजारमा छिरेपछि त्यसको रोकथामको प्रयास गरिएपनि नियन्त्रण बाहिर गएपछि सबै सुरक्षित स्थानतर्फ गएको बताए। बाढीले किराना,स्टेशनरी पसल र एलजी कम्पनीको सोरुम, फेन्सी पसलमा ठूलो क्षति पुगेको छ। क्याम्पसचोकबाट छिरेको बाढी शिक्षामार्ग न्युरोड, गणेशटोल, हुलाकचोक, संगमचोक हुँदै बालमन्दिर चोकसम्म पुगेको छ। भिषण वर्षासँगै चट्याङ पर्दा न्युरोडस्थित बेनी हस्पिटल एण्ड रिर्चस सेन्टर अगाडी र गणेशटोलमा सडक भासिएको छ।
flood
क्याम्पसचोकमा लोदो र ढुंगाले बगर जस्तै बनेको छ। बेनीबाट अर्थुङ हुदै पाखापानी जोड्ने सडकखण्डको आँपरुखबाट छिरेको बाढीले निकास पाउन नसकेपछि बजारका घरहरू हरेक वर्ष डुबानमा पर्ने गरेका छन्। बाढीले बेनीबजारबासी रातभरि जाग्राम बसेका थिए। सडक निर्माण गर्दा फालिएको माटो बगेर आएको बाढीले बेनीबजारको करिव ९० प्रतिशत भूभाग हिलाम्मे भएको छ। बाढीले बगरजस्तै बनाएको क्याम्पसचोकमा करिब ५ फिट माथिबाट सवारीसाधन आवतजावत गरिरहेका छन्। ‘हरेकबर्ष ठूलो क्षति बनाउने गरेको छ। यसको निकास नखोजे अझै भयानक क्षति हुन्छ,’ एलजी कम्पनीका विक्रेता मिलन बानियाँले भने। सडक निर्माणको क्रममा बस्तीलाई असर गर्ने गरी माटो थुर्पाने गरिएकाले पनि समस्या भएको स्थानीयको गुनासो छ।
Flood
बिना योजना बजारमाथिबाट सडक विस्तार गरिएपछि बजारमा बाढी पस्न सुरु गरेको स्थानीयबासीको आरोप छ। पटकपटक आउने बाढीले ब्यवसायमा ठूलो क्षति पुगेपनि नियन्त्रणमा सानो बजेट बिनियोजन गरेर राज्य उम्कन खोजेका स्थानीयको आरोप छ। बाढी प्रवेश गर्ने बजारको माथिल्लो भागमा समेत सडक, घर लगायतका निर्माणका कार्य भइरहेकाले पनि बाढीको बेनीबजारलाई जोखिममा पारेको छ। ‘बाढीले सिंगो बेनीबजारलाई नै असर गरेको छ,’।
flood beni
यसको दीर्घकालीन समाधानको उपाय खोजिनुपर्छ,’ म्याग्दी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य ठाकुरप्रसाद शर्माले भने। उनले बाढीले आफ्नो स्टेनशनरीमा लाखौंको क्षति पुगेको बताए। स्थानीयबासी, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले बाढी पन्छाउन जुटेका छन्। यसैबीच वर्षासँगै बेनी नगरपालिका-६ बौद्ध विहार आसपासका क्षेत्रबाट मंगलाघाटमा समेत बाढी पसेको छ। बौद्धविहार नजिक रहेको गैरसरकारी संस्था रिक म्याग्दीको भवनका साथै माथिल्लो र तल्ला मंगलाघाटको बजारमा समेत क्षति पुगेको छ। वर्षाले ग्रामिण क्षेत्रका सडक अवरुद्ध भएका छन्।
flood beni


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !