२३ बैशाख २०८१, आइतबार

क्रिप्टोकरेन्सीको प्रतिबन्ध हटाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट दायर


सर्वोच्च अदालत

काठमाडौं । डिजिटल मुद्रा क्रिप्टोकरेन्सी प्रतिबन्धको सूचना बदर गरी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । क्रिप्टोकरेन्सीको कारोबार रोक्ने नेपाल राष्ट्र बैंकको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको हो ।

क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङलाई गैरकानुनी घोषणा गरिएको विरुद्ध आज बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो । राष्ट्र बैंकले यसअघि त्यस्तो कार्य गैरकानुनी हुने भन्दै सूचना जारी गरेकोविरुद्ध रिट दायर गरिएको हो ।

अधिवक्ताहरु सागर बराल, कोशिश गिरी, दिपेश ढकाललगायतले संविधान विपरित क्रिप्टोकरेन्सि कारोबारलाई प्रतिबन्ध लगाइएको दाबी गर्दै रिट निवेदन दायर गरेका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्र बैंकलगायत निकायलाई विपक्षी बनाइएको छ ।

राष्ट्र बैंकले विभिन्न मितिमा निकालेको उक्त सूचना संविधानले प्रदान गरेको मौलिक हक र कानुनी सिद्धान्तको प्रतिकूल रहेको रिटमा जिकिर गरिएको छ । राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङलाई गैरकानुनी घोषणा गरिएपछि सो कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ समेत गरेको थियो ।

प्रहरीले क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा बुधबार अमित श्रेष्ठलाई पक्राउ गरेको छ । अवैधरूपमा क्रिप्टोमा लगानी गरेको अभियोग छ । उक्त रिटको सुनुवाइ आउँदो सोमबारका लागि तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !