२१ बैशाख २०८१, शुक्रबार

भाषा पास गरेका ५ हजार भन्दा बढी नेपाली जापान जान पाउने


जापान र नेपाली टोली

काठमाडौं । भाषा परीक्षा पास गरेका ५ हजार भन्दा बढी नेपाली जापान जान पाउने भएका छन् । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको काठमाडौंमा सम्पन्न दोस्रो बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउने निर्णय गरेको हो ।

बैठकले विषेशगरी चारवटा विषयमा छलफल गरेको छ । त्यसमा नेपाल जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापनका समसामयिक कानुनी व्यवस्था समेटेर परिमार्जन गर्ने भएको छ। जापानको (एसएसडब्लु) प्रणाली कार्यन्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नेपर्ने कार्यविधि बनाउने, नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण हुने भएको छ ।

जापान र नेपाली टोली

जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट (एसएसडब्लु) प्रणालीअन्तर्गत नेपालबाट कामदार उपलब्ध हुनसक्ने जानकारी रोजगारदाताहरुलाई गराउने समझदानरी बनेको छ। सूचना प्रवाह सही र छिटो छरितो बनाउनुपर्ने विषयमा पनि छलफल भएको छ। नेपालमा कानुनी रुपमा केही कुरा परिवर्तन हुँदा जापान सरकारलाई पनि जानकारी दिनुपर्ने छ ।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल, परराष्ट्र मन्त्रालयका प्रतिनीधि योजना बम्जन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका हिमालचन्द्र अर्याल, बैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवार, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल, जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनीधि मण्डलको सहभागिता रहेको थियो ।

जापान र नेपाली टोली

यसैबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जापानका सहायक उपमन्त्री चोतुमो नाकागावासँग भेटवार्ता गरेका छन्। बैठक पछि मन्त्रालयमा भएको भेटमा नेपाली भाषा परीक्षा पास भएका र सिप सिकेर बसेका नेपाली कामदारलाई जापान पठाउने प्रक्रियाका विषयमा छलफल भएको छ ।

मन्त्री कुँवरले ५ हजार बढी नेपाली जापान जानको लागि तयारी अवस्थामा रहेका जानकारी गराए। उपमन्त्री चोतुमोलाई नेपाली कामदारलाई जापान पठाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न अनुरोध गरे । दुई देशबीचको समस्यालाई सामाधान गरी मित्रवत सम्बन्ध स्थापित गर्नुपर्ने बताए ।

उपमन्त्री चोतुमोले आजको गोष्ठी नेपाली कामदार जापान लैजानका लागि सकारात्मक भएको विश्वास व्यक्त गरे। उनले अहिले जापानमा कामदारको माग धेरै भएकाले (एसएसडब्लू)मार्फत् ५ हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको र श्रम सम्झौतामा ढिलाई भएकाले यो सम्झौता चाडों होस् भन्ने चाहेको बताए ।

चोतुमोले नेपाली कामदारलाई जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुल्ला गर्न आफुले पहल गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !