१४ बैशाख २०८१, शुक्रबार

नुवाकोटमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ५ जना घाइते


दुर्घटना

त्रिशूली । नुवाकोटमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको निधन भएको छ । ककनी गाउँपालिका–१ मा मिनीट्रक दुर्घटना हुँदा एक महिला र लिखु गाउँपालिका–६ मा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको निधन भएको हो ।

जिल्लाको ककनी गाउँपालिका–१ स्थित महालक्ष्मी थानमा आज भएको मिनीट्रक दुर्घटना हुँदा सोही स्थानकी वसन्ती बलामीको निधन भएको छ । ओखरपौवाबाट तरकारी लिएर काठमाडौँ जान लागेको बा ४ ख ३७२८ नम्बरको मिनीट्रक अनियन्त्रित भएर सडकबाट २० मिटर तल खस्दा ३२ वर्षीया बलामीको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) रामप्रकाश शाहले जानकारी दिए ।

उनका अनुसार मिनीट्रकमा यात्रा गरिरहेका अन्य पाँच घाइते भएकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । दुर्घटनापश्चात मिनीट्रकका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लिखु गाउँपालिका–६ मा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा सोही स्थानका २९ वर्षीय करण केसीको निधन भएको नुवाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिए । उनको अनुसार छहरे बजारबाट घरतर्फ जाँदै गरेका केसीले चलाएको ना ६२ प ९५२१ नं को मोटरसाइकल मध्यपहाडी सडक मार्गको छहरेस्थित सडकछेउको विद्युतीय खम्बामा ठोक्किँदा घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको थियो । उनको छहरे बजारमा रहेको सेवा सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !