२६ बैशाख २०८१, बुधबार

आइजिपी नियुक्ति विवादको मुद्दा आज हेर्दाहेर्दैमा, सुनुवाइको अर्को मिति तोकियो


धीरजप्रताप सिंह, सर्वोच्च अदालत र विश्वराज पोखरेल

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । आज बहस नसकिएकोले अर्को सुनुवाइ असार १९ गते हुने गरी मुद्दाको अन्तिम सुनुवाइ तेस्रो पटक हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि जेठ ३० र असार ५ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ ।

सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआइजी पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरियताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै पोखरेलले रिट दर्ता गरेका थिए । सोमबार सरकार पक्षबाट सरकारी वकिलले बहस सके पनि निजी कानुन व्यवसायीहरुको बहस हुन सकेन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !