२१ बैशाख २०८१, शुक्रबार

इच्छाराजलाई छुटाउन न्यायाधीश र वकिलबीच १० करोड घुस डिल गरेको अडियो सार्वजनिक

न्यायपरिषद्को आकस्मिक बैठक बोलाइयो


राजकुमार कोइराला, इच्छाराज तामाङ र रुद्र पोखरेल

काठमाडौँ । सिभिल सहकारीका पूर्व अध्यक्ष एवं व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन न्यायाधीश र वकिलबीच १० करोड घुस डिल गरेको अडियो सार्वजनिक भएको छ ।

काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । उक्त करिब १० मिनेटको अडियो न्यूज २४ टिभीले हिजो मंगलबार साँझ सार्वजनिक गरेको थियो ।

न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले आज बुधबार दिउँसो साढे १ बजे आकस्मिक रूपमा न्यायपरिषदको बैठक बोलाएर सबै सदस्यहरुलाई बैठकमा उपस्थित हुन जानकारी गराएका छन् ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेकोमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् ।

अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् । यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास तोकिएको छैन । घुसको डिल गर्ने अधिवक्ता एमालेको कानुन विभाग सदस्यसमेत हुन् ।

यस्तो छ सुन्नुहोस् सार्वजनिक भएको अडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !