२० बैशाख २०८१, बिहिबार

मल अभावको असर : धादिङको धार्केमा किसानले खोसे २ ट्रक रासायनिक मल


धादिङ धार्के रासायनिक मल खोसे

काठमाडौं । धादिङ जिल्लाको धार्केमा किसानले २ ट्रक रासायनिक मल खोसेका छन् । आज शनिवार रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेका रासायनिक मल बोकेको २ वटा धादिङको धार्के बजारमा ट्रक नियन्त्रणमा लिएर किसानले रासायनिक मल खोसेका हुन् ।

स्रोतका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सो रासायनिक मल किसानले खोसेको बुझिएको छ । नेपालको मुख्य बाली धान खेती गर्ने समयमा रासायनिक मलको चरम अभावको परिणामस्वरुप धादिङका किसानले रासायनिक मल खोसेका हुन् ।

सशस्त्र प्रहरीले मल खोसेको रोक्न खोजेपनि भन्सार छलेको भन्दै राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानले कब्जा गरेर झन्डै ५ सय बोरा रासायनिक मल मल घरतिर लगेका हुन् ।

धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल ट्रकवाट खोसेर घर लगेका हुन् ।

अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् ।

आज शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा लगभग ४/५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन् । सोही क्रममा सशस्त्र प्रहरीले किसानहरुमाथि कुटपिट समेत गरेको थियो ।

किसानले धेरैजसो मल लगिसकेपछि प्रहरी घटना स्थलमा आएपछि मललाई नियन्त्रणमा लिएको छ । भन्सार छलेर ल्याएको मल व्यापारीहरुले महंगो बेच्ने गरेको उजुरीपछि राजश्व विभागले छापा मारेको जनाइएको छ ।

रोपाइँको समयमा रासायनिक मल नपाएपछि किसानहरुले बाटो घेरेर बसेका थिए । रासायनिक मल नपाउँदा किसानहरु मारमा परेका छन् । संसदमा पनि रासायनिक मल उपलब्ध गराउन सांसदहरुले माग गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !