१४ बैशाख २०८१, शुक्रबार

८ वर्षअघि १६ वर्षको उमेरमा बलात्कृत युवतीको घरमा पुग्यो प्रहरी टोली


यौन शोषण

काठमाडौं । करिब ८ वर्षअघि १६ वर्षको उमेरमा बलात्कृत भएकी युवतीको घरमा प्रहरी टोली पुगेको छ । करिब ८ वर्षअघि एक सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा कन्सल्टेन्सीका सञ्चालकले बलात्कार गरेको घटनाकी पीडित भनिएकी युवतीलाई भेट्न प्रहरी उपरीक्षकसहितको टोली उनको घरमा पुगेको हो ।

आज शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक, परामर्शदाता लगायतको टोली काठमाडौंको पेप्सिकोलास्थित पीडित युवतीलाई भेट्न पुगेका हुन् ।

मिस ग्लोबल इन्टरनेसनल-२०१४ मा सहभागी पिडित मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालकले लगभग ८ वर्षअघि आफू १६ वर्षको उमेरमा भएको बेला बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको भनेर सामाजिक सञ्जालबाट केही दिनअघि भिडियो सार्वजनिक गरेकी थिइन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो बलात्कारको घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारको नाममा रुलिङ गरेका थिए । ती युवतीले बलात्कारको शिकार हुन परेको कुरा सार्वजनिक गरेपछि अहिले सामाजिक संजाल र आज जनतामा ठूलो चासो र चिन्ताको विषय बनेको छ ।

सभामुखले रुलिङ गर्नुपूर्व प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सो बलात्कारको घटनाको छानविनको लागि सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।

टिकटक युजर आईडी ‘सुसी खान जाने हो’ बाट बुधवार साँझ पीडित युवतीलेआफू बलात्कृत भएको आरोप लगाएर भाग-१ देखी भाग-२० सम्मका भिडियोहरु पोष्ट गर्दै कारवाहीको माग गरेपछि सामाजिक सञ्जालमा ती भिडियोहरु भाइरल भइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !