१४ बैशाख २०८१, शुक्रबार

मोहम्मद आफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश


महोम्मद अफ्ताव आलम

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले आज शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै काँग्रेस नेता आलमलाई थुनामुक्त नगर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो । विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका आलम तत्काल थुनामुक्त नहुने भएका हुन् ।

यसअघि आलमलाई उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो । आलमले उच्च अदालतको उक्त आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सोही रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई तत्काल थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो ।

२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा घटना भएको १२ वर्षपछि २०७६ साल असोज २६ गते आलम पक्राउ परेका थिए ।

आलमविरुद्ध ३२ वर्ष कैद सजाय मागदाबीसहित तीनवटा मुद्दा चलाइएको छ । १२ वर्ष अगाडी भएको बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दामा आलम पुर्पक्षका लागि जेल चलान भएका थिए ।

रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !