२१ बैशाख २०८१, शुक्रबार

बझाङमा जीप दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते


दुर्घटना

बझाङ । बझाङ जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए । यसैगरी घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ का १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका–२ का १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा छन् ।

घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्जुको उपचार हुन नसकेपछि धनगढी सिफारिस गरिएको छ । प्रहरीका अनुसार जीपमा तीन महिला र छ पुरुष सवार थिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टसहितको टोली घटनास्थलतर्फ गएको र नेटवर्कको समस्याका कारण घटना के–कति कारणले घटेको हो भन्ने विवरण नखुलेको समेत सूचना अधिकारी चौधरीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !