२१ बैशाख २०८१, शुक्रबार

कोकाकोला कम्पनी बोटलर्स नेपालविरुद्ध कर छली मुद्दा दायर


कोकाकोला कम्पनी बोटलर्स नेपाल

काठमाडौं । चिसो पेय पदार्थ कोकाकोलाको कम्पनी बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीको मुद्दा दायर भएकाे छ । राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी गर्दै मुद्दा दायर गरेको हाे ।

बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीमा अनुसन्धान पश्चात मुद्दा दायर गरिएकाे विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए । बोटलर्स नेपाल बिरुद्ध पूँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो ।

बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पुँजीगत लाभकर छली गरेकाे अनुसन्धानबाट खुलेकाे उनले बताए । बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

यहाँस्थित बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेडका सञ्चालक, प्रबन्ध निर्देशक, आर्थिक कारोबार लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका १७ जनालाई प्रतिवादी कायम गरी दायर गरिएको मुद्दामा विभागले अभियुक्तहरूबाट ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ राजस्व चुहावट गरेकाले निजहरूबाट त्यति नै जरिवाना रकम असूलउपर गर्न माग गरेको छ ।

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायमा कुनै जानकारी नदिएको तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडिको आयकर ऐनअनुसार पूँजीगत लाभकर दाखिला गर्नेलगायत प्रक्रिया पूरा नगरी राजस्व चुहावट गरेको अभियोगपत्रमा विभागले उल्लेख गरेको छ ।

यस्तो छ हेर्नुहोस् राजस्व अनुसन्धान विभागले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !