१८ बैशाख २०८१, मंगलबार

पोखरामा आजदेखि जलपक्षी गणना गरिने


जलपन्छी

पोखरा । पोखरामा जलपक्षीको गणना गरिने भएको छ । सन् १९८७ देखि नियमित रूपमा गरिँदै आएको जलपक्षी गणना कार्यक्रमअन्तर्गत पोखरामा आजदेखि दुईदिनसम्म गणना गरिने भएको हो । सन् २००४ देखि पोखरा उपत्यकामा नियमित जलपक्षी गणना गरी अभिलेख राखिँदै आइएको छ ।

प्रत्येक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणनामा स्वयंसेवी पक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षणसँग सम्बन्धित सङ्घसंस्थाको सहभागिता रहेको पोखरा पक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधि मनशान्त घिमिरे जानकारी दिए ।

उनका अनुसार सिमसारमा आश्रित पानी चराहरूको अवस्था पत्ता लगाउन, सङ्ख्या अध्यावधि गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपक्षीहरूको अनुगमन र गणना गर्ने गरिन्छ । यस वर्ष पनि पुस १७ देखि माघ ५ (जनवरी १ देखि १९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीमा जलपक्षीहरूको गणना भइरहेको छ ।

होटेल टाइगर माउन्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाइमा सन् २००४ देखि पोखरामा सुरु गरिएको पानी चरा गणना पथप्रदर्शकहरु, नेपाल पक्षी संरक्षण सङ्घ–पोखरा र पोखरा पक्षी समाजको संलग्नमा हुँदै आएको छ ।

पहिलो दिन विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपक्षी गणना गरिने प्रकृति संरक्षणविद् झलक चौधरीले जानकारी दिए । हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको अध्यक्ष घिमिरेका भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !